काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग(एनपिएल)को फाइनल खेल आफै मैदानमा उपस्थित भएर हेर्न मन भए हुँदाहुँदै नसकिएको बताएका छन् । शनिवार सामाजिक सञ्जालमा एक भिडिओ वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले महिनौँ अघि इटहरीमा एउटा कार्यक्रम तय भएकाले एनपिएल फाइनलमा चाहना हुँदाहुँदै उपस्थित हुन नसक्ने अवस्था भएको बताएका हुन् ।
‘एनपिएलअन्तर्गत सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच रोमाञ्चक खेल हुँदै छ । मलाई क्रिकेट मैदानमै उपस्थित भएर खेल हेर्न मन लागेको थियो । तर महिनौँअघि तय भएको कार्यक्रममा सहभागी हुन इटहरी जानुपर्ने भएकाले खेल मैदानमा उपस्थित हुन सकिनँ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘फाइनल खेल म मोबाइल वा अन्य त्यस्तै कुनै उपकरणबाट हेर्नेछु । एनपिएलमा सहभागी आठ वटै टिमलाई धन्यवाद ।’
एनपिएल ट्रफी अनावरण गर्दा भेटिएका खेलाडीलाई आफूले सम्झिरहेको पनि प्रधानमन्त्री ओलीले बताएका छन् । उनले भने, ‘ट्रफी अनावरणमा भेटिएका हाम्रा सबै खेलाडीको अनुहार म झलझली सम्झिरहेको छु ।’
एनपिएल एउटा ठुलो राष्ट्रिय पर्वकै रूपमा भएको पनि प्रधानमन्त्री ओलीले प्रतिक्रिया दिएका छन् । ‘मैले पनि अधिकांश खेलहरू हेर्ने मौका पाएँ । खेलमा जित वा हार एउटा प्रक्रिया हो । मुख्य कुरा नेपाली क्रिकेटलाई ब्रान्डिङ गर्न यसले भूमिका खेलेको छ । नेपाली खेलाडीहरूको खेल स्तर बढिरहेको पनि यसले स्पष्ट देखाएको छ,’ उनले अगाडि भनेका छन् ।
प्रतिक्रिया