काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश अगाडि लम्किँदै गरेको बताएका छन् ।
नेपाल जेसिजको ५१औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई शनिबार इटहरीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिका पूर्वाधार र आर्थिक विकास तथा रोजगारीका अवसर लगायत क्षेत्रमा व्यापक भिन्नता आएको बताए ।
उनले भने, ‘हामीलाई चाहिएको मानव जातिको सुख हो । हाम्रा मेहनतको ध्येय सुख पाउनु हो । ज्ञान, बुद्धि र मति कस्तो छ भन्ने आधारमा मानिसको मूल्यांकन हुन्छ । ती तिनै भए पनि बुद्धि भ्रष्ट भएमा काम लाग्दैन । मानिसमा शालिनता र विनम्रता चाहिन्छ । आफूभित्र घमण्ड हुनु हुँदैन ।’
मानिसले प्राप्त गरेको ज्ञान र बुद्धिलाई ठीक मतिले प्रयोग गर्न सकेमा मानवीय सुख प्राप्त गर्न सकिने बताउँदै उनले भने, ‘जेसिजले अनुशासन सिकाउँछ, अरूलाई सम्मान दिएर मनोबल सकारात्मक बनाउन प्रेरित गर्छ । यसले मुख छाड्न र गाली गर्न सिकाउँदैन । वातावरण जोगाउन सिकाउँछ । यी प्रेरणाहरू मानव जातिका लागि आवश्यक छन् । समृद्ध नेपाल, सुखी नेपालको लक्ष्य पनि यही हो, हामी नेपाली एकताबद्ध भएर यो लक्ष्य प्राप्तिमा लाग्नुपर्छ ।’
प्रतिक्रिया