विश्वास गर्नुस्, मधेश र देशलाई समृद्ध बनाउने काम एमालेले नै गर्छ : प्रधानमन्त्री ओली

विश्वास गर्नुस्, मधेश र देशलाई समृद्ध बनाउने काम एमालेले नै गर्छ : प्रधानमन्त्री ओली


वीरगञ्ज – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अस्थिर र फोहोरी राजनीतिलाई समाप्त पारेर देशको समृद्धिका लागि एमाले र कांग्रेसको संयुक्त सरकार बनेको बताएका छन् ।

आईतबार पर्साको सखुवा प्रसौनी गाउँपालिकाको औराहा पचगावामा नेकपा एमाले पर्साले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रम तथा जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष समेत रहेका ओलीले मधेशको विकास एमालेले नै गर्ने दाबी गरे ।

उनले भने, ‘देशको अस्थिर र फोहोरी राजनीतिलाई समाप्त पारेर देशको समृद्धिका लागि एमाले र कांग्रेसको संयुक्त सरकार छ । मुलुकमा रहेका बेथिति, अस्थिरतालाई हटाउन यो सरकार बनेको हो ।’

विगतमा एमाले नेतृत्वको सरकारले थालनी गरेर बीचमा पार्टी सरकारमा नहुँदा अधुरा र अलपत्र परेका विकास निर्माणका योजनाहरू अहिलेको सरकारले सम्पन्न गर्ने उनले बताए । ‘विश्वास गर्नुस्, मधेश र देशलाई समृद्ध बनाउने काम एमालेले नै गर्छ । एमालेकै नेतृत्वले गर्छ । अहिलेको एमाले–कांग्रेसको संयुक्त सरकारले नै गर्छ । मधेश र देशको विकासको गति अब अगाडि बढिसक्यो, कसैले रोक्न सक्दैन,’ उनले भने ।

मिसन–८४ सफल बनाउनका लागि देशभरका एमाले नेता–कार्यकर्ता अहिलेदेखि नै एकजुट भएर अगाडि बढ्नुपर्ने उनले बताए । उनले भने, ‘देश बनाउने पार्टी एमाले नै हो । त्यसकारण अरु पार्टीमा रहेकाहरूलाई एमालेमा प्रवेश गर्न आह्वान गर्छु ।’

एमालेले भन्दै आएको मिसन २०८४ बारे प्रस्ट्याउँदै उनले भने, ‘हामीले मिसन ८४ भनेका छौं । अब हुने निर्वाचनबाट एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न सके मात्रै एमालेको मिसन ८४ सफल हुन्छ । एमालेको एकल बहुमतको सरकार बन्यो भने मात्रै हाम्रो मिसन ८४ सफल हुन्छ ।’