अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सचिवालय बैठकबाट पारित

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सचिवालय बैठकबाट पारित


काठमाण्डु – नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा पेश गरिने अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहीबार बसेको सचिवालय बैठकले राजनीतिक प्रतिवेदनका मुख्य बुँदामा छलफल गरी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते बस्दैछ । प्रतिवेदनमा पछिल्लो राजनीतिक घटनाक्रमको विवेचना गरिएको उनले बताए ।
‘नयाँ सरकार बनेपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो, प्रतिवेदनमा किन हामीले एमाले र नेपाली कांग्रेसबीच नयाँ सहकार्य गर्नुपर्‍यो । त्यसको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसर के हुन् ? त्यसको विश्लेषण गरेका छौं,’ उपमहासचिव ज्ञवालीले भने, ‘प्रतिवेदनमा सरकार गठनको ६ महिनाको समीक्षा गरिएको छ । त्यसमा सरकारले गरेका केही महत्त्वपूर्ण उपलब्धि र थुप्रै महत्त्वपूर्ण गर्नुपर्ने काम समावेश गरिएको छ ।’

उपमहासचिव ज्ञवालीले संविधानको संशोधन, संविधानको कार्यान्वयन, संसद्मा रहेका विधेयकलाई छिटो टुंग्याउने, संविधानसँग बाधिएका कानूनलाई प्रतिस्थापन गरी नयाँ कानून ल्याउने कुरा लगायत ९ वटा क्षेत्र अलग–अलग संयन्त्र बनाएर एमाले र कांग्रेसले काम गरिरहेको बताए । उनले सरकारले २ राजनीतिक दलबीच विश्वासको वातावरण बनाउँदै राजनीतिक स्थिरिताको सन्देश दिन सकेको बताए ।