काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब राजतन्त्र फर्किने सम्भावना नभएकाले पूर्वराजा लोकप्रिय भए चुनाव लड्न सुझाव दिएका छन् ।
महोत्तरीमा बिहीबार भएको कार्यक्रममा बोल्दै उनले जनताले एकपटक फालिसकेको राजतन्त्रलाई स्वीकार नगर्ने स्पष्ट पारे ।
जनताले फालेको राजतन्त्रलाई नेपालको संविधानले नचिन्ने उनले बताए । ‘अब यस देशमा सामन्ती राजतन्त्र, जन्मिँदै राजा हुने, कोही–कोहीले जुनसुकै क्षमता भए पनि रैती भएर बस्नुपर्ने यस्तो प्रणाली हुँदैन,’ उनले भने, ‘नेपाली जनताले अबको समयमा राजतन्त्रलाई स्वीकार गर्दैनन् । हाम्रो संविधानले राजतन्त्र चिन्दैन, नेपाली जनताले फालिसकेका छन् ।’
पूर्वराजा ज्ञानेन्द्र शाहलाई जहाँसुकै पनि चुनाव लड्न अधिकार भएको उनले बताए । ‘पूर्वराजा निकै लोकप्रिय छन् भने चुनाव लड्नुस्, आउनुस् पार्टी खोल्नुस्,’ उनले भने ।
राजतन्त्रको पक्षमा नाराबाजी भइरहेको भन्दै उनले कसैलाई कुर्सीमा राख्दैमा राजा नहुने बताए । नेपाली जनताले उदिनेर फालेको राजतन्त्र कहाँबाट ल्याउने हो भन्दै प्रश्न गरेका छन् ।
प्रतिक्रिया