महेन्द्रनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले गेटामा देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने बताएका छन् ।
आईतबार महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोह सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसै वर्षदेखि गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनमा ल्याउने बताए ।
‘गेटा मेडिकल कलेज स्वास्थ्य विश्वविद्यालयमा परिणत भए देशकै पहिलो स्वास्थ्य शिक्षातर्फको विश्वविद्यालय हुनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसका लागि सरकारले आवश्यक तयारी अघि बढाएको छ ।’
सुदूरपश्चिम विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले देशको जिम्मेवारी भविष्यमा विद्यार्थीकै काँधमा आउने भएकाले आफूले सिकेको शिक्षालाई व्यावहारिक जीवनमा प्रयोग गर्न समेत आग्रह गरेका छन् ।
सुदूरपश्चिममा थुप्रै सम्भावना भएकाले सम्भावित क्षेत्र पहिचान गरेर सरकारले योजना अघि बढाएको बताए । दार्चुला सदरमुकामदेखि उत्तरीतर्फका नागरिकलाई आफ्नै घरदेखि देश जानका लागि भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता आएको भन्दै उनले नेपालबाटै सडक निर्माणका लागि ५ करोड बजेट समेत विनियोजन गरिएको बताए ।
उनले भने, ‘हामीले दार्चुलादेखि सिधै चीनकै सीमासम्म सडक बनाउन लागेका छौं, यसबाट नागरिकलाई आफ्नै भूमि भएर आवतजावत गर्न सहज बनाउँछौं ।’
महाकाली पुल, दोधाराचाँदनीमा सुक्खा बन्दरगाह, पञ्चेश्वर योजना, महाकाली कोरिडोर, हुलाकी राजमार्ग, दैजीछेला औद्योगिक क्षेत्र लगायत योजना अघि बढाउन सरकारले योजना ल्याएको बताए ।
प्रतिक्रिया