काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासको बाटोमा लगातार अगाडि बढिरहेको बताएका छन् ।
आईतबार धनगढीमा धनगढी सभागृहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले धनगढी सभाहल निरन्तर विकासको प्रमाण भएको बताए । ओलीले देश विकासको काममा योगदान पुर्याउन पनि सबैलाई आह्वान गरे ।
व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्नेलाई केही वर्ष यताको विकासलाई हेर्न आग्रह गरे । ओलीले सडक, पुल, सिँचाइ, कलेज, विश्वविद्यालय, स्वास्थ्य, आर्थिक, सामाजिक हरेक क्षेत्रमा विकास भएको बताए । ‘केही भएको छैन भन्ने होइन,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले विकासका काममा स्थानीय सरकारले अघि बढाएका योजनालाई प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्ने बताए । ‘तपाईंहरू योजना अगाडि बढाउँदै जानुस्, काम अगाडि बढ्दै जानेछन्, हामी काम अगाडि बढाउँदै लैजानेछौं,’ उनले भने ।
ओलीले सबै नेपाली मिलेर देश विकास गर्नुपर्ने बताए । ‘देश विकास हुन्छ, हामी गर्छाैं । हामीले गर्ने हो देशको विकास, अरू कसैले आएर गर्ने होइन, हामी भनेको हामी सबै नेपालीले मिलेर गर्छाैं,’ ओलीले भने ।
प्रतिक्रिया