विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका छन् ।
कोशी प्रदेश सभामा मंगलबार विशेष सम्बोधन गर्दै उनले जनताको बलिदानी संघर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकता अनुसार जनता र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने बताए ।
लोकतान्त्रिक प्रणालीमा जोकोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको स्पष्ट गर्दै उनले संविधानसम्मत, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताए । ‘हामी जनताको गरीबी र पछ्यौटेपन हटाएर जान चाहन्छौं । गरीबी हटाएर मात्रै हामी सन्तोष मान्दैनौं । समग्र मानवीय जैविक र न्यायोजित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुपर्छ,’ उनले भने ।
‘नागरिक सर्वाेच्चता भएको यस प्रणालीमा रहेर अब हामी समृद्धिका लागि छिटो काम गर्न चाहन्छौं । रोजगारीका अवसर सिर्जना गर्न चाहन्छौं । त्योभन्दा पहिला हामीले उद्यमशीलतामा जोड दिनुुपरेको छ । त्यसकारण देशलाई पछाडि फर्काउने होइन, अगाडि बडाउने हो । संविधान बमोजिम तीनै तहका सरकारले सहकार्य गरेर देश विकासमा लाग्नुपर्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले देशको भौगोलिक, सांस्कृतिक र जातीय विविधतालाई मनन गरेर विविधताबीच एकता कायम गरेर ज्ञान र गौरवको यस नेपाललाई विश्व मानचित्रमा सार्वभौम, लोकतान्त्रिक र समृद्ध बनाउन आग्रह गरे ।
उनले प्राकृतिक हिसाबले कोशी प्रदेश अत्यन्तै सुन्दर रहेको बताए । ओलीले कला संस्कृति, जातजाति, हिमाल आदि धेरै विषयले कोसी प्रदेश महत्वको भएको चर्चा गरे । कोशीबाट ऐतिहासिक सभ्यता सुरु भएको र प्राकृतिक हिसाबले सुन्दर प्रदेश भएको उनले बताए ।
‘प्रकृति, पुर्खा र इतिहासप्रति हामी गर्व गर्न सक्छौं,’ उनले भने । ओलीले कोशी प्रदेशको मुख्य नदी सप्तकोशीमा फुल्चोकीदेखि रोशी हुँदै र साँगाको ढलदेखिको पानी आउने गरेको बताए ।
सगरमाथा संवादको विषय वातावरण, हिमाल र विकाससँग सम्बन्धित भएको बताउँदै उनले हिमाल पर्यटन बढाउने लक्ष्य रहेको बताए । ‘यति धेरै अग्ला हिमाल थुप्रै भए पनि ८ हजार मिटरमाथिका हिमाल पर्यावरणीय हिसाबले महत्वपूर्ण छन्,’ उनले भने, ‘नदीहरूको महत्त्व पनि उत्तिकै छ । प्राकृतिक हिसाबले यो उर्वर र ठूलो इकोसिस्टम पैदा गर्ने कोशी प्रदेशमा छ ।’
प्रतिक्रिया