काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहीबारबाट हुने एसईई परीक्षामा सहभागी हुने विद्यार्थीलाई सफलताको शुभकामना दिएका छन् ।
बुधबार भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीहरूलाई नआत्तिई परीक्षा दिन आग्रह गरेका छन् ।
‘अघिल्लो वर्ष अलिक नतिजा त्यति राम्रो भएन, यसपटक मैले तपाईंहरूसँग राम्रो नतिजाको अपेक्षा गरेको छु,’ ओलीले भने ।
पहिला–पहिला एसईईलाई फलामे ढोका भनिने भएकाले पनि त्यसले विद्यार्थीलाई त्रास बढाउने गरेको उनले बताए । ‘तपाईंहरू परीक्षासँग नतर्सिनुस्, परीक्षा जीवनका कदम कदममा मोड मोडमा आइरहने चिज हो, धेरै परीक्षा उत्तीर्ण गरेर तपाईंहरू यहाँ आइपुग्नुभएको छ, भविष्यमा पनि तपाईंहरूले अनेक परीक्षा पार गर्नुपर्नेछ,’ उनले भने ।
उनले धैर्यताका साथ नआत्तिन, राम्रो तयारी गरेर परीक्षा दिन उनले आग्रह गरे । अनिँदो र थकित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुने भन्दै उनले त्यसबाट जोगिन आग्रह गरे ।
‘एसईईको परीक्षा आइहाल्यो, त्यसकारण तपाईंहरूसँग खेर फाल्ने समय छैन, मेरो धेरै धेरै शुभकामना छ, तपाईंहरू राम्रो अंक प्राप्त गरेर सफलतापूर्वक उत्तीर्ण हुनुस्, सबैमा धेरै–धेरै शुभकामना,’ ओलीले सन्देशमा भनेका छन् ।
प्रतिक्रिया