काठमाण्डु – गणतन्त्र संस्थागत हुँदै जानुपर्ने बेला जनअपेक्षा पूरा नभएपछि सर्वसाधारणमा आक्रोश छ । जनताले आधारभूत सुविधा पाउन नसकेको, नेता र कर्मचारी विलासी भएको, भ्रष्टाचार बढेको, सुशासनको प्रत्याभूति हुन नसकेको बेला राजतन्त्र र हिन्दूराष्ट्र पुनःस्थापनाको माग गरिँदैछ ।
खर्चालु संघीयता र भ्रष्ट जनतिनिधिका कारण जनआक्रोश गाउँगाउँसम्म छ । यस्तै गरिएका सरकारका निर्णय र प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारले आक्रोशलाई मलजल गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण कुशल व्यवस्थापनको श्रेय पाएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सोमबारको मन्त्रिपरिषद्को निर्णय धेरैलाई मन परेको छैन । त्यसविरुद्ध मंगलबार राजधानी काठमाण्डुको माइतीघर मण्डलामा प्रदर्शन नै भयो, जहाँ प्रधानमन्त्री ओलीविरुद्ध अप्रिय नारा लागेका छन् ।
कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयमा सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेताहरूको असहमति प्रकट भएको छ । महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमा लेखे, ‘आमनागरिकमा असन्तुष्टि बढ्दो छ । त्यहीँ असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सल्बलाइरहेको छ । यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिनरात नभनी मेहनत गर्ने, सरकार चाहिँ आफैं असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ? हामीले यस्तो नगरौं है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नुपर्ने हो… तर विडम्बना त्यो भएन, निर्णय गलत छ, सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन ।’
महामन्त्री थापाले नागरिकमा असन्तुष्टि बढ्दा सरकार उल्टो बाटो हिँडेको टिप्पणी गरेका बेला अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि कुलमानलाई बर्खास्त गर्ने निर्णयमा विमति जनाए । उनले सामाजिक सञ्जालमा लेखे, ‘कुलमान घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति थिएन । बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रूपमै सजग गराइएको थियो । कारवाही योग्य केही भए, पछि पनि गर्न मिल्थ्यो । केही राम्रा प्रयास छायाँमा पार्ने गरी सरकारले कुलमान हटाउनुहुन्न थियो । सरकारको यो निर्णय समयोचित बिल्कुलै भएन । असन्तुष्टिलाई निराशाको भाष्य बनाएर, प्रतिगमनको खेती गर्नेहरूलाई निरुत्साहित गर्नुपर्ने बेलामा सरकारले गलत निर्णय जो लियो, यसप्रति खुला र प्रष्ट रूपमा विमति छ ।’
कांग्रेस नेता डा. शेखर कोइरालाले कुलमान हटाउनुलाई ‘विनाशकाले विपरीत वुद्धि’को संज्ञा दिए । उनले सामाजिक सञ्जालमा लेखे, ‘सरकारको कुशासनको निरन्तरताको अर्को कडी ! कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कति दिन चल्ने र चलाउने ? विनाशकाले विपरीत वुद्धि ।’
सत्तारुढ दलको शीर्ष तहमै प्रकट भएको असन्तुष्टि जनस्तरमा फैलिएको छ । मंगलबार सडक प्रदर्शन हुँदा पनि प्रधानमन्त्री ओली आफ्नो निर्णय सही भएको अडानलाई प्रस्ट्याउँदैछन् । कांग्रेस नेत्री सुजाता कोइरालाद्वारा लिखित ‘म र सानोबुवा’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘इस्यु भेटियो हिजोदेखि भन्दै हिँडेका छन् । यही मौका हो । यही डोरीलाई अब नाग बनाउनुपर्छ भनेर लागेका छन् । त्यसको केही अर्थ छैन । हामीले देश र जनताको लागि इमान्दार भएर काम गर्ने हो ।’
सरकारको निर्णयमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्टि व्यक्त गर्नु स्वाभाविकै भइहाल्यो । अध्यक्ष प्रचण्डले पनि कुलमान हटाउने निर्णयमा आपत्ति जनाएका छन् ।
अर्काेतिर काठमाण्डु महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’सँग सरकारको तालमेल मिलिरहेको छैन । प्रमुख प्रशासकीय अधिकृतको अभावमा काठमाण्डु महानगरका आर्थिक काम–कारवाही ठप्प भएका छन् । यसबारे मेयर बालेनले सरकारको आलोचना गर्दै आएका छन् । सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले कडा आपत्ति प्रकट गरेका छन् । उनले लेखेका छन्, ‘ काठमाण्डु महानगरपालिकाका सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब पाएको छैन सरकारको दम्भले ! को–कोले के–के आन्दोलन गर्ने हो ? मलाई थाह छैन, अबको १ हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !’ त्यो पछि हेरौंला तिमीहरूको के–के तन्त्र हो !’
मेयर शाहसँग एउटा उमेर समूहको युवापुस्ता भावनात्मक रूपमा जोडिएको छ । मेयर शाहसँग सरकारले जुध्दा जनआक्रोश बढाउन मलजल गरिरहेको छ ।
युवापुस्तालाई लोभ्याउँदै राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सरकारका कामसँग सन्तुष्ट छैन । सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा मुछिएपछि धेरै अभिव्यक्त हुन नसके पनि रास्वपा नेता र समर्थकहरू सरकारको विरोधका लागि मौका पर्खेर बसेका छन् । कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णय सभापति लामिछानेका लागि त्यस्तै मौका बन्यो, उनले सोमबार सामाजिक सञ्जालमार्फत लाइभ आउँदै ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले गर्ने’ बताएका छन् ।
सरकारका अलोकप्रिय काम–कारवाहीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीले चर्काे आक्रोश व्यक्त गर्ने गरेका छन् । उनको पार्टी राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाका लागि क्रियाशील छ । केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाण्डु आउँदा स्वागत समारोहको नाममा राप्रपाले शक्ति प्रदर्शन गर्यो, जसबाट गणतन्त्रवादी र नेपालको राजनीति तरङ्गित बनेको छ ।
राजसंस्था पक्षधरको सक्रियता बढेका बेला सरकारका गतिविधि झन् आलोचित बनेपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रमुख ३ दल नै राजा ल्याउने षड्यन्त्रमा लागेको टिप्पणी गरे । सामाजिक सञ्जालमा उनले लेखे, ‘मलाई मात्रै यस्तो लागेको हैन होला, संवेदनशील भएर जानुपर्नेमा देशमा लोकप्रिय रहेका/भइरहेका सबैमाथि १–१ गरी हमला गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, र माओवादीले नै ‘बर्डेन शिफ्टिङ’का लागि राजा ल्याउने गरी माहौल बनाउँदै षड्यन्त्र गरेका हुन् कि ?’
प्रतिक्रिया