प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरणलगायत विषयमा संसदलाई जानकारी गराउने छन् ।

प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूको अवरोधका कारण एकसातादेखि संसद बैठक अवरुद्ध हुँदै आएको छ । उनीहरूले घिसिङको बर्खास्तीको विषयमा प्रधानमन्त्रीले संसदलाई जानकारी गराउाुन पर्ने माग गर्दै आइरहेका छन् ।

यस्तै बैठकमा बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक– २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१ पेस गर्नेछन् ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१ पेस गर्ने छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक– २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक– २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।