काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानबिन हुने बताएका छन् ।
शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका तीनकुने घटनाको न्यायिक छानबिन गर्ने बताएका हुन् । ‘तीनकुने घटनाको न्यायिक छानबिन हुनु पनि सक्छ र नहुन पनि सक्छ’, प्रधानमन्त्री ओलीले भने ।
तीनकुने घटनाको लागि न्यायिक छानबिन गठन गर्ने की नगर्ने भन्नेबारेमा विचार गर्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘न्यायिक छानबिन नहुन पनि सक्छ, हुन पनि सक्छ । तर छानबिन निष्पक्ष हुन्छ । सबै कुरामा न्यायिक छानबिन नै चाहिन्छ भन्ने पनि छैन । त्यो हामी विचार गर्नेछौँ । यसै निष्पक्ष छानबिन गर्ने कि न्यायिक छानबिन गर्ने भनेर ।’
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने जनाए ।
सगरमाथा संवादको समयमा नै मोदीले युरोपको भ्रमण गर्ने कार्यक्रम तय भइसकेकाले नेपाल आउन नपाउने तर भारतबाट उच्चस्तरको प्रतिनिधि सहभागी हुने जानकारी आफूले पाएको उनले बताए ।
थाइल्याण्ड भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीसँग आफ्नो भेट भएको र भेट सुमधुर भएको बताए । उनले पारस्परिक सहयोगका विभिन्न क्षेत्रहरूको सम्बन्धमा र पञ्चेश्वर आयोजना, व्यापार, दोधारा चाँदनीमा महाकालीबाट सिँचाइ गर्ने कुराहरूमा छलफल भएको बताए । नेपाल–भारत सम्बन्धलाई अझ व्यापक विस्तृत, सुदृढ गर्दै लैजाने र देखिएका समस्यालाई तत्काल छलफल गरी टुंग्याउने बारेमा समझदारी भएको पनि प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्री ओलीले नेपालबाट भारत भ्रमण सगरमाथा संवादका कारण केही व्यस्तता रहेपनि आफूले समय मिलाउनसके हुनसक्ने बताए ।
प्रतिक्रिया