काठमाण्डु- असार अन्तिम साता प्रधानमन्त्री बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले सत्ता सहयात्रीबाटै निरन्तर आलोचनाको शिकार बनेका छन् ।
सत्ता सहयात्री दल नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा तथा नेता डा. शेखर कोइराला लगायतले सरकारको निरन्तर आलोचना गरिरहेका छन् ।
सरकारको कामका विषयमा प्रमुख सत्ता साझेदार दल कांग्रेसकै नेताहरूले आलोचना गरिरहँदा सरकार अप्ठ्यारो र संकटमा परेको त होइन भन्ने प्रश्न पनि उठ्न थालेको छ ।
कांग्रेसका नेताहरू सार्वजनिक रूपमै सरकारको आलोचना गरिरहँदा विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त नयाँ वर्षमा नयाँ सरकार नै बन्ने ठोकुवा गरिरहेका छन् ।
सत्ता साझेदार र विपक्षीबाट समानान्तर आलोचना खेपिरहँदा कांग्रेस–एमालेको गठबन्धनको आयुबारे आशंका पनि जन्मिएको छ । तर दुईतिहाइ बहुमतको सरकार अप्ठ्यारोमा नपरेको एमाले नेताहरू बताउँछन् ।
एमालेका सचिव रघुवीर महासेठ सरकारमाथि कुनै प्रकारको खतरा नरहेको बताए । उनले कांग्रेसका केही नेताहरूले सरकारको आलोचना गरेपनि त्यसलाई आफूहरूले सकारात्मक रूपमा लिएको बताए ।
काठमाण्डुपाटीसँगको कुराकानीमा सचिव महासेठले भने, ‘गठबन्धन र सरकार कमजोर भएको छैन, हामीलाई कांग्रेसको बलियो साथ छ ।’ सरकारको आलोचना गर्न कांग्रेसका नेताहरू स्वतन्त्र रहेको भन्दै उनले सरकारप्रति जसले जति टीकाटिप्प्णी गरेपनि यो सुरक्षित रहेको बताए ।
‘कांग्रेसका केही नेताले सरकारको आलोचनामात्र गरेका हुन्, सरकार ढाल्ने कुरा गरेका होइनन्’, महासेठले भने, ‘तर कांग्रेसले गठबन्धनको विषयमा कुनै निर्णय गर्छ भने मात्र सरकारको आयुबारे केही भन्न सकिन्छ ।’ उनले एमाले र कांग्रेसकै सहमतिअनुसार सरकारले काम गरिरहेको दाबी गरे ।
कांग्रेसका नेताहरूले सरकारप्रति टिप्पणी गरिरहँदा माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक विश्लेषण र कांग्रेस-एमालेका नेताहरूको कुराकानीका आधारमा यो सरकार लामो समयसम्म जाने स्थिति नरहेको बताउँछन् ।
रुपन्देहीमा बिहीबार अध्यक्ष दाहालले भने, ‘यो सरकार २०८२ साल कट्ने आधार छैन र कट्दैन भनेर राजनीतिक विश्लेषणका आधारमा भनेको हुँ।’
त्यसअघि गृह जिल्ला चितवनमा पनि उनले सरकार परिवर्तन हुन सक्ने र आवश्यक परे आफ्नो दलले कांग्रेसलाई समर्थन पनि गर्न सक्ने बताएका थिए ।
तर, बिहीबार बसेको सत्ताधारी दलको राजनीति संयन्त्रको बैठकले गठबन्धन र सरकारलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । कांग्रेस महामन्त्रीद्वय शर्मा र थापा तथा नेता कोइरालासहित एनपी साउदले सरकारको आलोचनामा सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । महामन्त्री शर्माले बुधबार सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री समक्ष ७ वटा बुँदामा प्रश्न गरेका छन् ।
सरकारको आलोचना गरिरहेका कांग्रेसका कतिपय नेताहरूले सरकारको कमजोरी केलाइ दिएको र ऐना देखाइ दिएको बताउँछन् ।
सरकारको खुलेर आलोचना गरिरहेका नेता साउदले सरकारले परिणाम दिन नसकेको टिप्प्णी गरे ।
काठमाण्डुपाटीसँग कुरा गर्दै उनले भने, ‘सरकारको प्रदर्शन जनमुखी भएन ।’ सरकार आफ्नो लक्ष्यमा हिंड्न नसकेको बताउँदै साउदले सरकारको गलत कार्यशैलीका कारण गठबन्धनको भविष्यमा पनि प्रश्न उठेको बताए । उनले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूको काम गर्ने शैली पनि सहि नरहेको टिप्पणी गरे ।
कांग्रेसका केही नेताहरूले सरकारमा स्थान नपाएर सार्वजनिक आलोचना गरेका हुन कि भन्ने पनि अर्थ लगाइएको छ ।
एमाले सचिव महासेठ भन्छन्, ‘कांग्रेसभित्रको एउटा लबी, जो सरकारको आलोचना गरिरहेको छ, उनीहरूले स्थान नपाएर आक्रोश व्यक्त गरेको पनि हुनुपर्छ ।’
कांग्रेसका नेताहरू गठबन्धन तलमाथि नहुने बताउँछन् । ‘सरकारलाई निरन्तरता दिने तर सरकारको कार्यशैलीलाई बदलेर निरन्तरता दिने भन्ने कुरा मात्र हो’, कांग्रेस नेता साउदले भने ।
राजनीतिक विकासक्रम भन्दा पनि गठबन्धनभित्र देखिएको खटपटको मौका छोपेर माओवादी अध्यक्ष प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने भनेको हुन सक्ने विश्लेषकहरूको धारणा छ ।
प्रतिक्रिया