काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको जम्मुकश्मिरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा परी ज्यान गुमाउने सबै पीडितप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
प्रधानमन्त्री ओलीले आतंकवादविरुद्धको लडाइँमा भारतसँग दृढ ऐक्यबद्धता जनाउँदै यस्ता सबै किसिमका आतङ्कवादी कार्यहरूको कडा भर्त्सना गरेका छन्।
आक्रमणमा नेपाली नागरिक परेको आशङ्कासम्बन्धी रिपोर्टहरूका बारेमा सरकारले भारतीय पक्षसँग समन्वय गरिरहेको प्रधानमन्त्री ओली सामाजिक संजाल एक्समा लेखेका छन् ।
‘पहलगाममा भएको आतङ्कवादी आक्रमणमा परेका सबैप्रति गहिरो समवेदना प्रकट गर्दछौं। नेपालले भारतसँग दृढ ऐक्यबद्धता जनाउँछ र सबै किसिमका आतङ्कवादी कार्यहरूको कडा निन्दा गर्दछ’, ओलीले लेखेका छन् ।
उनले थपेका छन्, ‘आक्रमणमा नेपाली नागरिक परेको आशङ्कासम्बन्धी रिपोर्टहरूका बारेमा नेपाल सरकार भारतीय पक्षसँग समन्वयमा रहेको छ। पीडितमध्ये एक नेपाली नागरिक हुन सक्ने रिपोर्टबारे प्रमाणीत गर्न नजिकबाट समन्वय भइरहेको छ र आवश्यक सम्पूर्ण सहायता उपलब्ध गराइनेछ।
मंगलबार जम्मुकश्मिरको पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरी आतंकवादी आक्रमण हुँदा नेपालीसहित कम्तिमा २७ जना मारिएका छन् ।
यस्तै नेपालको परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति निकालेर घटनाको कडा शब्दमा निन्दा गरेको छ ।
‘जम्मू कश्मीरको पाहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतंकवादी हमलाको नेपाल स्पष्ट रूपमा निन्दा गर्दछ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया