मिर्गौला प्रत्यारोपणको १० दिनः प्रधानमन्त्री ओली मुस्कुराउँदै अस्पतालबाट बाहिरिए

मिर्गौला प्रत्यारोपणको १० दिनः प्रधानमन्त्री ओली मुस्कुराउँदै अस्पतालबाट बाहिरिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोली मिर्गौला प्रत्यारोपणको १० दिनपछि बालुवाटार फर्किएका छन् । गत बुधबार मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली १० दिनपछि डिस्चार्ज भएका हुन् ।

प्रधानमन्त्रीलाई अस्पतालभित्रबाट ह्विलचेयरमा बाहिर निकालिएको थियो । बाहिर आएपछि भने उनी उभिएर मुस्कुराउँदै हात हल्लाए अनि गाडीमा चढेर बालुवाटार लागेका थिए ।

‘उहाँको पेटमा हामीले एउटा पाइप राखेका छौं’, त्रिवि शिक्षण अस्पतालको युरोलोजी विभागका प्रमुख डाक्टर उत्तमकुमार शर्माले भने,‘बालुवाटारमा पनि हामी उहाँको निगरानी गर्छौं । उहाँका सबै प्यारामिटर सामान्य देखिए । त्यो पाइप निकाल्छौं ।’

बालुवाटारमा प्रधानमन्त्री ओलीलाई राख्नका लागि आइसोलेसन कक्ष बनाइएको छ । प्रधानमन्त्रीलाई समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । संग्रौला यसअघि नै डिस्चार्ज भइसकेकी छन् ।

प्रधानमन्त्री डिस्चार्जको समयमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायत नेकपाका नेता तथा कार्यकर्ताहरु अस्पताल पुगेका थिए ।