प्रधानमन्त्रीले नै गरे स्वास्थ्यका मापदण्ड ‘उल्लङ्घन’

प्रधानमन्त्रीले नै गरे स्वास्थ्यका मापदण्ड ‘उल्लङ्घन’


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा जारी गरिएको स्वास्थ्यका मापदण्ड उल्लङ्घन गरेका छन् ।

सरकारले कोरोना भाइरस संक्रमण बढेको भन्दै २५ जनाभन्दा बढी भेला हुन नपाइने मापदण्ड बनाएर सार्वजनिक गरेको भोलिपल्टै प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वमा जारी गरिएको आदेशकाे ठाडो उल्लङ्घन गरेका हुन् ।

कोरोना महामारीकाबीच मंगलबार बिहानै बालुवाटारमा चितवनको माडी अयोध्याधाममा स्थापना गर्ने राम–सीताका मूर्ति हस्तान्तरण गर्न धार्मिक अनुष्ठान कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै मानिसहरुको उल्लेख्य उपस्थिति थियो ।

सोमबार साँझ सरकारका प्रवक्ता पार्वत गुरुङले स्वास्थ्यका मापदण्ड सार्वजनिक गर्दै उल्लङ्घन गर्नेहरुलाई सङ्क्रामक रोग ऐनअनुसार कानुनी कारबाही गरिने चेतावनी दिएका थिए । तर सरकारले नै २५ जना भन्दा बढी भेला हुन नपाउने भनि गरेको निर्णयको भने पालना गर्न सकेन ।

सरकारले जारी गरेको ८ पृष्ठे लामो आदेशमा भनिएको छ, ‘धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी वैशाख मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने/गराउने । विवाह, न्वारान, पास्नी, व्रतबन्ध, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा २५ जनाभन्दा बढी सहभागि नहुने । यस आदेशको पालना गर्नु सबैको कर्तव्य हुनेछ । यस आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पुर्‍याउने व्यक्ति तथा संस्थालाई सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारबाही र सजाय हुनेछ ।’

आफ्नै नेतृत्वमा जारी गरिएको स्वास्थ्यका मापदण्ड प्रधानमन्त्री ओलीले नै उल्लङ्घन गरेपछि प्रधानमन्त्रीलाई अब के कस्तो सजाय हुन्छ ? भन्ने सर्वत्र आलोचना हुन थालेको छ । कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, सन्तमहन्तलगायत २५ जना भन्दा बढी उपस्थिति थिए ।

नयाँ स्वास्थ्य मापदण्ड अरु के भनिएको छ ?

मास्क नलगाए जरिवाना
सरकारले सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राख्न नपाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक यातायातमा यात्रुले माक्स अनिवार्य लगाउनुपर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए । सरकारका प्रवक्ता पार्वत गुरुङले यदि मास्क नलगाए १० रुपैयाँमा मास्क दिनुपर्ने गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यसैगरी गाडीलाई नियमति सेनिटाइज गर्नुपर्ने, माक्स नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाइ यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए । सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रुलाई चढ्न नदिने र दैनिक सवारी साधनलाई निसंक्रमित तुल्याउनुपर्ने निर्णय पनि गरिएको छ ।

होटल तथा रेष्टुरेन्टका लागि

सरकारले होटल तथा रेष्टुरेन्टलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्रै संचालन अनुमति दिएको छ । अब होटलमा बसेर खान नपाइने भएको छ । डेलिभरी सेवा अनिवार्य गर्नुपर्ने मापदण्ड सरकारले ल्याएको छ ।

भेला हुन नपाइने

अबदेखि सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नपाइएको भएको छ । भौतिकरुपमा उपस्थित भएर सभा, सम्मेलन र गोष्ठी गर्न नपाइने, सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने र सभा सम्मेलन भर्चुअल माध्यमबाट गर्ने मापदण्ड सरकारले ल्याएको छ । तर, सुरक्षा निकायको आन्तरिक भेला भने स्वास्थ्य मापदण्ड अपनाएर गर्न सकिने सरकारले उल्लेख गरेको छ ।

मेला महोत्सव, जात्रा पर्व, पास्नी व्रतवन्ध, मलामी, अनुष्ठान क्रियाकलाप संचालन गर्दा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए । अबदेखि सो भन्दा बढी भेला हुनै पर्ने बाध्यता भए डीसीसीएमसीको अनुमति लिनुपर्ने भएको छ ।