काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन् ।
बल्खुस्थित नेकपा एमाले केन्द्रीय कार्यालय भवन शिलान्यासमा पुगेका प्रधानमन्त्री ओलीले उनीहरूलाई सम्झाउने र सच्याउने प्रयास जारी राखेको बताए ।
‘हामी सम्झाइबुझाइ गरिरहेका छौं । सम्झाउने र सच्याउने प्रयास छ । हामीले पार्टीमा क्षति नहोस् भनेर कसैलाई पनि कारवाही गरेको छैन,’ उनले भने, ‘व्यक्तिगत तवरमा कुरा हुनसक्छ, व्यक्तिगत जिम्मेवारी दिन सकिन्छ, मेरो गुट भनेर हुने भागबण्डा अब चल्दैन ।’
पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता माधवकुमार नेपालसँग बुधबार दुई घण्टा ‘वान टु वान’ कुराकानी गरेका थिए । उनले पार्टीमा काम गर्न अवसर दिन लागिएको विषयलाई कमजोरी नठान्न पनि चेतावनी दिएका छन् ।
‘गल्ती महसुस गरेर आउनेलाई पार्टीमा काम गर्ने अवसर दिन चाहिरहेका छौं। तर यसलाई कसैले कमजोरी नठानियोस्,’ उनले भने। कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर पार्टीकै सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुलाई उनले अराजकता भनेका छन् । उनले पार्टीविरोधी गुटका गतिविधिलाई कुनै हालतमा स्वीकार नगरिने बताएका छन्।
साथै उनले आफूलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले माटोमा मिलाइदिने नीति लिएको आरोप लगाए । ‘केही व्यक्तिहरूको चरम महत्वाकांक्षा, कसैले नेतृत्व गरेको देख्न नसक्ने, कसैले सफलताको चर्चा गरेको सुन्न नसक्ने संकिर्ण प्रवृत्तिले संगठित हमला गरे,’ उनले भने, ‘त्यो संगठित हमलाको सिलसिला निकै निर्मम थियो, शासनमा भएका भए के गर्थे होलान् ? नहुँदा त यस्तो छ ।’
प्रतिक्रिया