काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शीर्ष नेताहरुको बैठक बोलाएका छन् । राष्ट्रियसभाका उम्मेद्वार टुंगो लगाउन प्रधानमन्त्री ओलीले एमालेका शीर्ष नेताहरुलाई बालुवाटार बोलाएका हुन् ।
एमालेले रिक्त पदमा गृहमन्त्री रामबहादुर थापा बादललाई उठाउने तयारी गरेको छ । तर, जितको सुनिश्चितता नभएकाले बादलको ठाउँमा अर्को उम्मेद्वार उठाउनुपर्ने एमालेभित्र आवाज उठिरहेको छ ।
एमालेका नेता माधव नेपाल समूहले वाम गठबन्धनसँग मिलेर राष्ट्रियसभाका उम्मेद्वारमा डा. खिमलाल देवकोटालाई उठाउने निर्णय गरेको छ ।
नेपाल समूहसहित नेपाली कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त उम्मेद्वार खडा गरेका हुन् । राष्ट्रियसभा तर्फको वागमती प्रदेशको उपनिर्वाचन जेठ ६ गते गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।
राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि शुक्रबार (आज) उम्मेदवारी मनोनयन हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका लागि हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको हो ।
प्रदेश राजधानी हेटौंडामा खोलिएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ ।
२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ यो क्षेत्रबाट निर्वाचित भएका थिए । पछि नेकपा एमालेमा प्रवेश गरेका थापाको सांसद पद गुमेको थियो ।
प्रतिक्रिया