प्रधानमन्त्रीलाई जिस्क्याउँछन् चिकित्सकः पोखरामा भाषण गर्न जाने ?

प्रधानमन्त्रीलाई जिस्क्याउँछन् चिकित्सकः पोखरामा भाषण गर्न जाने ?


काठमाडौं – त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिर जाने चासो देखाएका छन् । स्वास्थ्यमा सुधार आउन थालेपछि प्रधानमन्त्री पहिले झै सक्रिय हुने कोशिश गरिरहेका छन् । तर, चिकित्सकहरुले भने केही दिन अस्पतालमा नै आराम गर्नुपर्ने बताएका छन् ।

उनीहरुले मिर्गौलाको डायलाइसिस पनि गर्नुपर्ने भएकाले मनमोहनबाट त्रिविमा सार्नेबारेमा बिहीबार दिउँसो छलफल गरेका छन् ।

प्रधानमन्त्री अहिले बेडबाट उठेर मेचमा बस्न थालेका छन् । त्यही क्रममा उनले बाहिरी राजनीतिक माहोल र समसामयिक विषयमा चासो राखेर अस्पतालबाट निस्कन खोजेपछि उपचारका संलग्न डा. अरुण सायमीले प्रधानमन्त्रीलाई जिस्क्याउँदै कहाँ जाने भनेर सोधेका थिए ।

‘आज यहाँबाट हामीले निकालेपछि पोखराको चुनावमा भाषण गर्न जाने कि दशरथ रंगशाला उद्घाटन गर्न जाने ?’, सायमीले प्रधानमन्त्रीलाई सोधेका प्रश्न उधृत गर्दै स्रोतले भन्यो,‘तर प्रधानमन्त्री मुस्काउनु भयो, कुनै प्रतिक्रिया दिनु भएन ।’

साथै प्रधानमन्त्रीले आफ्नाबारे बाहिर के आएको छ भन्दै चासो राख्ने गरेका छन् । प्रधानमन्त्री जतिसक्दो चाँडो अस्पतालबाट बाहिर निस्कन चाहन्छन् तर, चिकित्सकहरुले उनलाई आफ्नो निगरानीमा राख्ने निर्णय गरिसकेका छन् । उनलाई देशकोबारेमा चिन्ता रहेको उपचारमा संलग्न एक जना चिकित्सकले बताए ।

तीन दिन आईसियुमै राखिने

ओलीलाई तत्काल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमै राखिने भएको छ । उपचारमा संलग्न चिकित्सकहरुको बैठकले प्रधानमन्त्रीलाई मनमोहनबाट त्रिवि शिक्षण अस्पतालमा नसार्ने निर्णय गरेको हो ।

अझै कम्तीमा तीन दिन आईसियुमै राख्नका लागि चिकित्सकहरुले मनमोहनको पाँचौ तला खाली गराउने भएका छन् ।

महमोहनको पाँचौ तलाको आईसियुमा मुटुको अपरेसन गरेपछिका बिरामीलाई राखिने गरिन्छ । चिकित्सकहरुले उपचारलाई अझै प्रभावकारी बनाउन पाँचौ तला पुरै खाली गरेर मुटुको अपरेसन गरेका बिरामीलाई चौथो तलामा राख्ने निर्णय लिएका छन् ।