काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसम्मतरूपमा सभामुख चयन हुनु राम्रो लक्षण भएको बताएका छन् ।उनले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए ।
प्रतिनिधि सभाको बैठकलाई मंगलवार सम्बोधन गर्दै प्रधामनन्त्री ओलीले संसद्लाई मर्या्दित ढंगले चलाउन सभामुख सापकोटालाई सुझाव दिए ।
‘संविधानको परिपालना र कार्यान्वयन, कानून र नियतसम्मत् ढंगले, मर्यादित ढंगले अगाडि बढाउन सफल हुने विश्वास छ । आफ्नो तर्फबाट पूर्ण सहयोग रहने वचन दिन चाहन्छु,’ ओलीले भने ।
ओलीले सभामुख चयनसहितका काममा धेरै ढिला भएकाले अब रोकिन नहुने बताएका छन् ।
‘सभामुखजीले मर्यादित ढंगले संसद अगाडि बढाउनु हुनेछ । मेरो तर्फबाट तपाईँलाई पूर्ण सहयोग हुनेछ । सभा सञ्चालनमा सकारात्मक भूमिकाका साथ सहयोग रहनेछ’, उनले भने, ‘राजनीतिक आन्दोलनको चरण पार गरेर हामी यस बिन्दुमा आइपुगेका छौँ । हामीले विचार पुर्याएर अघि बढ्नुपर्छ । हाम्रो समाजको चरित्र पनि मेलमिलाप गरेर अघि बढ्ने खालको छ ।’
ओलीले देशमा लोकतान्त्रिक प्रणाली स्थापना गरिसकेकाले अब विकासतर्फ लाग्नुपर्नेमा जोड दिए । ‘जनतामा सार्वभौमसत्ता आइसकेको छ । सार्वभौम जनताले सबै कुराको अन्तिम निर्णायक हुन्छन्’, उनले भने, ‘निर्वाचन गरेर सार्वभौम संरचना पनि तयार गरिसकेका छौँ । हामीले बाटो तय गरिसकेका छौँ, अगाडि बढिसकेका छौँ ।’
ओलीले ठूला असहतिका बावजुद सहमति जुटाउँदै दलहरु यस ठाउँमा उभिएको बताए । ‘हाम्रो समाजको चरित्र पनि त्यस्तै छ, हामी संघर्ष गरेर पनि अन्तिममा सहमतिमा पुग्छौँ’, उनले थपे, ‘२००७ सालमा आन्दोलन र सशस्त्र संघर्ष भएर सम्झौतामा टुंगियो । जो राणाविरुद्ध आन्दोलन गरियो, उनैलाई प्रधानमन्त्री बनाइयो । जो राजा भागेका थिए, उनैलाई गद्दीमा ल्याएर राखियो, सहमति गरे ।’ एकतावद्ध नभएका समय दलहरु असफल भएको उनले बताए ।
‘हामी नमिल्दा प्रतिगामी कदम चालिए, हामी एकतावद्ध नभए समस्या हुन्छ । २०४६ सालमा एक हुँदा ३० वर्षे पञ्चायत ढल्यो । पछि एक हुँदा माघ १९ को निरंकुशतालाई हरायौँ’, उनले भने, ‘एकतावद्ध नभएको भए संविधान पनि आउँदैनथियो, निर्वाचन पनि हुँदैन थियो । सत्यलाई कम महत्व दिने कुरा अब हुँदैन । दुनियाँ तीव्र गतिमा अगाडि बढेको छ । विकास, प्रविधि हरेक हिसाबले दुनियाँ अघि बढेको छ ।’
ओलीले समय तीव्र गतिमा अघि बढेकाले अब रोकिन नहुनेमा जोड दिए। ‘हामीले समय खेर फालेका हुन्छौँ, हामीलाई समयले पर्खिँदैन । सबै सांसदहरुमा विकासको यस गतिलाई समात्न सक्नुपर्छ । त्यसको नेतृत्व अहिलेको सरकारले गर्छ’, उनले भने, ‘हामीले लडेर ल्याएको उपलब्धी र प्रणाली, त्यस अनुकुलको संविधान, कानुन निर्माण र कार्यान्वयनमा सरकार लागेको छ । हामी यति बेला ससाना कुरामा अल्झिने, आग्रह पूर्वाग्रहमा अल्झिनु हुँदैन ।’
प्रधानमन्त्री ओलीले विभिन्न विधेयकहरु पास गर्नुपर्ने काम आफूहरुसँग रहेको बताए । प्रधानमन्त्रीले एमसीसी विधेयकलाई सदनबाट पास गर्नुपर्ने काम आफूहरुको काँधमा रहेको प्रतिक्रिया दिए ।
सभामुखलाई लक्षित गर्दै प्रधानमन्त्रीले भने, ६, ७ जना प्रधानमन्त्रीदेखि पार हुँदै आएको एमसीसी यसै अधिवेशनमा पारित गर्नुपर्नेछ ।’
प्रतिक्रिया