एउटै वडाका मान्छे सँगै बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरू पनि छन् : केपी ओली

एउटै वडाका मान्छे सँगै बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरू पनि छन् : केपी ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटै वडाका मान्छेहरू सँगै बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरू पनि रहेका बताएका छन् ।

नेकपा एमालेनिकट महिला संघको तीज कार्यक्रममा बोल्दै उनले सबै जाति एकै ठाउँमा भएको हेर्न मन नपराउनेहरू अहिले पनि रहेको बताए ।

अध्यक्ष ओलीले सबै जाति एकै ठाउँमा भएको हेर्न मन नपराउनेहरूको मन भतभती पोलिरहेको बताए ।

२०४८ सालमा तीजको कार्यक्रम गर्दा अर्घखाँचीमा राति नेपाली कांग्रेसका कार्यकर्ताहरू भेला भएर महिलाहरूमाथि कुटपिट भएको र त्यो समस्या समाधान गर्न आफू जानुपरेको प्रसंग उनले सुनाए ।

उनले भने, ‘यस्ता चाडबाड मन नपराउनेहरू, अरु कुरा मन नपराउनेहरू, एकता मन नपराउने, सबै जातका मान्छेहरू एकै ठाउँ बसेको मन नपराउने, मान्छे त झगडा गरेर बस्नुपर्नेमा कहाँ रमाएर एकैठाउँ छन् भनेर मन भतभत पोल्नेहरू अहिले पनि छँदैछन् । एउटै वडाका मान्छेहरू अहिलेसँगै बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरू अहिले पनि छन् । साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरू अहिले पनि छन् ।’