मिसन ८४ लाई प्रदेश अधिवेशनले ऐतिहासिक योगदान गर्नेछ : केपी ओली

मिसन ८४ लाई प्रदेश अधिवेशनले ऐतिहासिक योगदान गर्नेछ : केपी ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रदेश अधिवेशनले मिसन ८४ लाई ऐतिहासिक योगदान गर्ने बताएका छन् ।

भृकुटीमण्डपमा सुरू भएको एमालेको बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ओलीले अधिवेशन एउटा नमूना अधिवेशनको रूपमा स्थापित हुने बताए ।

‘यस अधिवेशनले एउटा नमूना अधिवेशनका रूपमा आफ्ना काँधमा रहेका अभिभारा र चुनौतीहरूलाई मध्यनजर गर्दै गम्भीर निर्णय र निष्कर्ष निकाल्नेछ,’ उनले भने, ‘विगतमा आफूले गरेका कामहरूको समीक्षा गर्नेछ । आजको यथार्थ अवस्थाको बारेमा आकलन र मूल्यांकन गर्नेछ ।’

अध्यक्ष ओलीले मिसन ८४ लाई सफल पार्न अधिवेशन कोशेढुंगा सावित हुने बताए । उनले भने, ‘अब हामी कसरी अगाडि बढ्छौं र मिसन ८४ लाई कसरी सफल पार्छौं यस कुरामा यस अधिवेशनले ऐतिहासिक योगदान गर्नेछ ।’

अधिवेशनको सफलताको शुभकामना दिँदै ओलीले एमाले राष्ट्रियताको रक्षाका निम्ति सदैव लडिरहने र राष्ट्रिय चिन्तनको प्रतिनिधित्व गर्दै आएको बताएका छन् ।