अध्यक्ष ओलीले कांग्रेस–माओवादीलाई भने– तपाईंहरू सच्चिनुस्, नत्र भविष्य राम्रो छैन

अध्यक्ष ओलीले कांग्रेस–माओवादीलाई भने– तपाईंहरू सच्चिनुस्, नत्र भविष्य राम्रो छैन


जनकपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नसच्चिए भविष्य राम्रो नभएको बताएका छन् ।

एमाले मधेश प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो भविष्य अन्धकार देख्नेहरूले एमालेको विरोध गरिरहेको बताए ।

उनले भने, ‘एमाले काम गर्न नसकेर विरोध गरेको छैन । एमालेको राम्रो काम देखेपछि अब आफ्नै भविष्य अन्धकार हुने देखेर विरोध गरिँदैछ ।’

नेपाली कांग्रेस र माओवादी पनि एमालेको राम्रो काम देखेर आत्तिएको उनले बताए । उनले भने, ‘तपाईंहरू सच्चिनुस्, सचिएनौ भने भविष्य राम्रो हुने छैन । अन्धकारमा जाने नै छ ।’

उनले देश बनाउने जिम्मेवार पार्टीलाई चिनेकोमा मधेशका जनतालाई पटक–पटक धन्यवाद दिए । मधेशबाटै संगठन निर्माण गरेको र ५० वर्ष अगाडि आफूलाई हत्या गर्न खोजेको पनि उनले सुनाए ।

‘मलाई हत्या गर्ने जिम्मा जसलाई दिएको थियो, त्यो प्रहरीले नै मलाई साइड लगायो र बाँचें,’ उनले भने ।

अध्यक्ष ओलीले कम्युनिष्टका नाममा जनतालाई भ्रमित पार्ने काम भइरहेको बताए । उनले सच्चा कम्युनिष्टहरूलाई एमालेमा आउन आह्वान पनि गरेका छन् ।