काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र पारदर्शीता विश्व सूचकमा नेपाल गतवर्षभन्दा माथि उठेको बताएका छन् । नेकपा केन्द्रीय कमिटीको बैठकमा सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै प्रधानमन्त्रीले कम्युनिष्ट सरकारले माइनसमा जान नदिने बताए ।
‘सरकारले केही गरेन भन्ने कुरा आइरहेको छ, अहिले मैले सरकारले गरेका कामहरुको फेहरिस्त प्रस्तुत गर्नेछु, जुन पछि तपाईंहरुलाई पुस्तिकाको रुपमा पुर्याउँला,’ ओलीले भने, ‘विधिको शासनमा नेपाल माथि उक्लिएको छ । भ्रष्टाचार र पारदर्शीता विश्व सूचकमा गतवर्षभन्दा माथि उठेको छ । अन्तर्राष्ट्रिय मानकमा कम्युनिष्ट सरकारले माइनस जान दिएको छैन । सबै प्लस छ ।’
उनले गणतन्त्र स्थापनापछि आर्थिक वृद्धिदर दशवर्ष लगातार ४ प्रतिशत थियो भने अहिले ६ प्रतिशत भन्दा बढी रहेको स्पष्ट पारे ।
‘यसवर्ष केही कुराले धक्का दिए पनि धेरै प्रभाव पार्न सकेको छैन,’ उनले भने, ‘इकोनोमिष्ट पत्रिकाले विश्वका दशवटा उच्च आर्थिक वृद्धि भएका मुलुकको सूचीमा नेपाललाई पनि राखेको छ । हामीले हाम्रो मुखपत्रमा छापेको होइन, इकोनोमिष्टले छापेको हो ।’
उनले अहिलेको सरकार गठनपछि लगातार दुईवर्षमा वैदेशीक लगानीको प्रतिवद्धता १०५ प्रतिशतले बढेको बताए ।
व्यापार घाटा कम भएको भारतसँगको निर्भर कम हुँदै गएको तथ्य उनले पेस गरेका छन् ।
‘पानीजहाजका लागि कार्यालय खोलेका छौं । नारायणी नदीमा क्रुज सञ्चालनका लागि सफल परीक्षण पनि भइसकेको छ,’ उनले भने, ‘पुल बनिरहेका छन् । आफ्नो अगाडिको पुल हेरेर सरकारले यही एउटा मात्रै त हो नि बनाएको भनेर आलोचना गर्न मिल्दैन ।’
ओलीले आफूहरुविरुद्ध प्रचार आक्रमण तीव्र रुपमा भइरहेको बताए । उनले भने, ‘कमरेडहरु ! हाम्राविरुद्ध प्रचार आक्रमण तीव्र रुपमा छेडिएको छ । युद्ध त दुईतिरबाट हुन्छ । यहाँ त आक्रमण मात्रै भएको छ । हामी विवादबाट होइन । हाम्रा उपलब्धिबाट र नतिजाबाट जवाफ दिन्छौं ।’
उनले लोकतन्त्रप्रति आफूहरुको निष्ठामा प्रश्न उठाइएको बताउँदै भने, ‘हाम्रो पार्टीको नामको कारणले कतिमा वैचारिक पूर्वाग्रह हुन सक्छ । हामी वैचारिक आग्रह पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ ।’
प्रतिक्रिया