प्रतिगमनकारी शक्तिलाई नरोके गठबन्धनले सरकार छाड्नुपर्छ : केपी ओली

प्रतिगमनकारी शक्तिलाई नरोके गठबन्धनले सरकार छाड्नुपर्छ : केपी ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनकारी शक्तिलाई नरोके गठबन्धनले सरकार छाड्नुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठकलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘हामी मुलुकलाई पछाडि फर्कन दिन्नौं प्रतिगमनतर्फ जान दिन्नौं । देशलाई प्रतिगमनतर्फ जानतर्फ जानका लागि यो निकम्मा सरकारले अनुकूल वातावरण सिर्जना गरेको छ । कि प्रतिगतमकारी शक्ति हौसिन नदिने गरी काम गर्नुपर्छ, होइन भने सरकार छोड्नुपर्छ ।’

उनले मुलुकलाई प्रतिगमनतर्फ लैजाने कोसिस सफल हुन नदिने बताए । व्यवस्था विरोधी गतिविधिहरू बढिरहेका बेला मध्यपहाडी लोकमार्गमा अभियान लिएर हिँड्न लागिरहेको बताउँदै उनले एमालेले कुनै पनि प्रतिगमनकारी गतिविधिलाई रोक्ने बताए ।

अध्यक्ष ओलीले अभियान सकेर फर्केपछि एमालेले सरकारविरुद्ध आफ्ना गतिविधिहरू झन् बढाउने बताए । सरकारका कामकारबाही ठीक नभएकाले अब सरकारविरुद्ध जनदबाब सिर्जना गर्ने उनले बताए ।

उनले भने, ‘यो अभियान सकेर आएपछि हामी एउटा सही र निष्कर्षका साथ मैदानमा उत्रिन्छौं र देशलाई बाटो दिन्छौं । यदि हामीले देशलाई निकास दिने बाटो दिन सकेनौं भने त्यो जनअसन्तुष्टिलाई सम्बोधन गर्ने शक्तिको अभाव हुनेछ ।’

सरकारले कुनै निकास दिएन भने विद्रोह जन्मिने उनले चेतावनी दिए । ‘अगाडि बढ्ने बाटो बन्द भयो भने जनता सडकमा आउँछन्,’ उनले भने ।