प्रहरीले समातेका गुण्डालाई सरकारले नै छोड्छ, राष्ट्रपतिले माफी दिन्छ : अध्यक्ष ओली

प्रहरीले समातेका गुण्डालाई सरकारले नै छोड्छ, राष्ट्रपतिले माफी दिन्छ : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रहरीले समातेका गुण्डाहरूलाई सरकारले छोडेको र राष्ट्रपतिले माफी दिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नै गुन्डाहरूलाई प्रश्रय दिएको आरोप लगाए ।

उनले भने, ‘अहिलेको सरकारले नै राजनीति अस्थिर बनाएको छ । राजनीतिलाई अराजक बनाएको छ । प्रहरीले समातेका गुन्डाहरूलाई सरकारले छोड्न लगाउँछ । राष्ट्रपतिले माफी दिन्छ । समाजमा सुशासन छैन ।’

व्यक्तिमा खराबी हुने भन्दै लोकतन्त्र कहिल्यै खराब हुन नसक्ने उनले बताए । उनले भने, ‘जसले गल्ती गरेको छ, त्यो मान्छे खराब हुन सक्छ । व्यक्ति खराब हुनसक्छ तर लोकतन्त्र र गणतन्त्र खराब हुन सक्दैन ।’

देशमा राजतन्त्रको कल्पना गर्न नसकिने भन्दै उनले नेपाल अब ढुंगे युगतिर फर्किन नसक्ने बताए । उनले भने, ‘हामी ढुंगे युगतिर फर्किन सक्दैनौं । जन्मिँदै कोही राजा बन्ने हामीलाई स्वीकार हुँदैन । त्यो राजालाई जनताले चाहँदैन भनेरै फालेका हुन् ।’