जनतालाई धन्यवाद दिँदै ओलीले भने – प्रचण्ड र माकुनेको षड्यन्त्र हुँदा पनि पार्टी जोगाउनुभयो

जनतालाई धन्यवाद दिँदै ओलीले भने – प्रचण्ड र माकुनेको षड्यन्त्र हुँदा पनि पार्टी जोगाउनुभयो


डोटी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनेक प्रकारका षड्यन्त्र हुँदा पनि पार्टी जोगिएको बताएका छन् ।

मध्यपहाडी लोकमार्ग पदयात्राको क्रममा डोटीमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले पार्टी जोगाएको भन्दै कार्यकर्तालाई धन्यवाद दिए ।

उनले भने, ‘प्रचण्ड षड्यन्त्र भए, माकुने षड्यन्त्र भए, अरु षड्यन्त्र भए, ती सबै षड्यन्त्रलाई परास्त गरेर पार्टी जोगाउनुभएको छ । पार्टी फेरि पहिलेकै ठाउँमै आएको छ । देशी–विदेशी सारा शक्ति लागेर पार्टीलाई सिध्याउन लाग्दा पनि पार्टी सकिएन,’ ओलीले भने, ‘तपाई सबैलाई धन्यवाद ।’

पछिल्लो समय हिंसा भड्काउने काम भइरहेको ओलीले बताए । देशलाई अगाडि बढाउने संकल्पका साथ संकल्प यात्रा सुरु गरिएको उनले बताए । उनले लम्पी स्किन रोगमा सरकारले ढिलासुस्ती गरेको आरोप लगाए । सरकार धेरै समय टिक्न नसक्ने उनले बताए ।

उनले भने, ‘यो सरकार कति चल्छ र ? यो सरकार मक्किएको धोद्रा परेको सरकार हो । यस्तै अवस्था देशमा रहँदैन ।’

अध्यक्ष ओलीले पार्टी नेता कार्यकर्तालाई एक भएर काम गर्न निर्देशन दिएका थिए ।