सरकारको कामबाट कांग्रेसका नेताहरू नै सन्तुष्ट छैनन् : अध्यक्ष ओली

सरकारको कामबाट कांग्रेसका नेताहरू नै सन्तुष्ट छैनन् : अध्यक्ष ओली


भोजपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरू नै सन्तुष्ट नरहेको बताएका छन् ।

पार्टीले आयोजना गरेको समृद्धिका लागि संकल्प यात्राका क्रममा बिहीवार भोजपुरमा आयोजित सभामा बोल्दै अध्यक्ष ओलीले सरकारको कामबाट नेपाली कांग्रेसकै नेताहरू समेत आजित भइसकेको दाबी गरेका छन् ।

उनले भने, ‘यो सरकारसँग नेपाली कांग्रेसकै नेताहरू पनि आजित भइसकेका छन् । राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर उनीहरू पनि असन्तुष्ट बनेका छन् ।’

देश दिनदिनै ओरालो लागेको भन्दै अध्यक्ष ओलीले यो अवस्थाबाट सबै क्षेत्र चिन्तित भएको बताए । देशलाई समृद्धितिर लैजान एमालेको सरकार आवश्यक भएको भन्दै उनले गठबन्धनबाट मुलुकको विकास नहुने टिप्पणी गरेका छन् ।

सुशासन र विकासका लागि कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने भन्दै ओलीले भने, ‘एउटा राष्ट्रिय शक्ति मजबुत भएन भने, सुशासन र विकासको पक्षमा जनशक्ति भएन भने देश बर्बाद हुन्छ ।’