सल्लाको रुख ढालेर पहिचानको माग सम्बोधन हुँदैन : केपी ओली

सल्लाको रुख ढालेर पहिचानको माग सम्बोधन हुँदैन : केपी ओली


विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानको माग बाटोमा रुख ढालेर समाधान नहुने बताएका छन् ।

तेह्रथुमको म्याङ्लुङमा शुक्रबार आयोजित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वार्ता र छलफलबाट समाधान खोजिनुपर्ने पहिचानको मुद्दा बाटोमा ढुंगा लगाएर, सल्लोको रुख ढालेर सम्बोधन नहुने बताए ।

‘बाटाको ढुंगामुढाले, बाटाका विरोध प्रदर्शनले, बाटाका व्यवधानले, बाटाका सल्लाको रुख ढालेर, बाटाको सल्लाको रुखले समस्याको समाधान हुँदैन,’ उनले भने, ‘सल्लाको रुख उभिँदा समस्या भएको हो र त्यसको समाधान रुख ढालेर हुन्छ र ? बाटो अवरोध गर्ने, सल्लाको रुख ढाल्ने काम नचाहिने कुरा हो ।’

आफूहरू आफ्नो यात्रामा समृद्ध नेपाल सुखी नेपालीको अभियानमा हिँडेकाले यो कसैविरुद्ध नभएको ओलीले स्पष्ट पारे । हाम्रो देशको पक्षमा, जनताको पक्षमा आफूहरू हिँडेको बताएका ओलीले आफ्नो विरुद्धमा लागेका साथीहरू पनि अभियानबाट प्रतिफल पाउने बताए ।

‘हामीले जेलनेल भोगेको, हामीले बलिदान दिएको, हामीले दुःख कष्ट गरेको हाम्रो लागि हैन, उहाँहरूको निम्ति हो,’ ओलीले भने, ‘यो अभियानको बारेमा सबैले बुझ्नु राम्रो हुन्छ भन्ने मेरो आग्रह हो ।’