ओलीको गुनासो : कांग्रेसी भयो भने भ्रष्टाचारमा मुछिएको मन्त्री पनि छुट्छ, एमालेका छुट्दैनन्

ओलीको गुनासो : कांग्रेसी भयो भने भ्रष्टाचारमा मुछिएको मन्त्री पनि छुट्छ, एमालेका छुट्दैनन्


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण छुट्दा एमालेका नेता टोपबहादुर रायमाझी जेलमै बस्नुपरेको गुनासो गरेका छन् ।

पार्टीको संकल्प यात्राअन्तर्गत आज शनिबार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै उनले एमाले भएकै कारणले कोही जेलमा बस्नुपरेको आरोप लगाए ।

‘मुद्दा लगाएका एउटा साथी हिजो कि अस्तिका दिन उहाँले बल्ल सफाइ पाउनुभयो । कोही साथीहरूलाई अझै मुद्दा लगाएर फसाइएको छ । कांग्रेस भयो भने मन्त्री भए पनि छुट्छ, एमालेमा लागेको छ भने रिसले कोही मान्छे छुट्दैन । कांग्रेसको कानूनी फाँटको नेता न्यायाधीश नियुक्ति हुन्छ, अनि कहाँबाट इन्साफ हुन्छ ?’ उनले भने ।

पूर्व प्रधानमन्त्री ओलीले दुस्मनी गरेर कहीँ पनि पुग्न नसकिने पनि बताए । उनले कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रिया भित्रैबाट संवाद गरी समाधान गर्न सकिने बताए । पहिचानवादीहरूले एमालेमाथि निशाना साँधिरहेका बेला ओलीले मुलुकमा आपसी द्वन्द्व, वैमनष्यता, आशंका र अविश्वास भइरहे त्यसले तनाव सिर्जना गर्ने र गरीबी नहट्ने बताए ।

‘म असहमति राख्ने साथीहरू सबै पार्टी, सबै समूहहरूलाई भन्न चाहन्छु– दुस्मनी गरेर कहीँ पुगिनेवाला छैन । मतभेदहरू हुन सक्दछन्, भिन्नताहरू हुन सक्दछन् तर तिनलाई शान्तिपूर्ण ढंगले विधि र प्रक्रियाबाट, त्यस्ता निकायहरू छन् । त्यसबाट धैर्यतापूर्वक संवादको माध्यमबाट हुनसक्छ । अरू निर्वाचनका माध्यमबाट हुन सक्दछन् । त्यसरी समाधान गरिनुपर्दछ । संवादबाट शान्तिपूर्ण ढंगले । हामीलाई शान्ति चाहिन्छ । यो विविधतामा हामी अल्झियौं भने यस विविधताले आन्तरिक द्वन्द्व, वैमनष्यता, आशंका, अविश्वास, तनाव सिर्जना गर्दछ । त्यसबाट हामी गरीबका गरीब रहन्छौं । अनि स्वीजरल्याण्ड धनी भयो, फलानो धनी भयो । इजरायल पनि धनी भइसक्यो । बालुवा नै बालुवाको देश यूएई धनी भइसकेछ । त्यसो भएर काम गर्न हामी त्यहाँ जानुपर्छ भन्ने होइन । आफ्नो देश हामीले किन नबनाउने ? यति सुन्दर देश । हामी आफैंले बनाउन सक्छौं ।’