सरकार भ्रष्टाचार, तस्करी र कमिसनखोरीको संरक्षक बन्यो : अध्यक्ष ओली

सरकार भ्रष्टाचार, तस्करी र कमिसनखोरीको संरक्षक बन्यो : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारलाई बुख्याचाको संज्ञा दिएका छन् ।

पार्टी निकट जनसंगठन नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार बुख्याचा भएकाले केही गर्न नसक्ने बताए ।

उनले एमाले विरोधीहरू एक्लै भिड्न नसक्ने अवस्थामा पुगेको पनि बताए । उनले भने, ‘हामी मिसन ८४ मा छौं । हाम्रा विरोधीहरू एक्लै लड्छौं भन्ने आँट नै गर्दैनन्, हामी मात्रै हौं, एक्लै लड्छौं भन्ने । हामी लड्यौं तर उनीहरूले स–साना अंक जोडेर सरकार बनाएका छन्,’ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, ‘त्यो सरकार तरकारी बारीको बुख्याचा जस्तो छ । केही गर्ने होइन । अहिले त त्यसका टाउकामा सुँगा पनि बस्छ, काग पनि । सबैले चिनिसके यो बुख्याचा हो, केही गर्न सक्दैन भन्ने । बुख्याचा मात्रै होइन, निकम्मा पनि छ ।’

अध्यक्ष ओलीले सरकार भ्रष्टाचार, तस्करी, कमिसनखोरीको संरक्षक बनेको आरोप लगाए । उनले विरोधीहरूले जुनसुकै बेलामा प्रहार गर्नसक्ने भएकाले त्यसविरुद्ध आन्दोलनमा उत्रिन तयार रहन पनि निर्देशन दिए ।

‘यस्तै अवस्था रहिरहे हामीले मिसन २०८४ भनेर पर्खिन नसक्ने स्थिति आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ ?’ ओलीले भने, ‘उस्तै परे हामीले गठबन्धन भत्काएर, यो लोभीपापीहरू नभत्किन सक्छन् । यिनीहरूको घाँटी एकैठाउँमा जोडिएको छ । त्यसैले हामी जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यक छ । त्यसअघि हामीले आफूलाई संगठित गर्नुपर्छ ।’

उनले एमालेमाथि प्रहार गर्नसक्ने अवस्था भएकाले आफूहरू निर्णायक लडाइँमा रहेको बताए ।