असन्तुष्ट जनता जस्तो खतरनाक कोही हुँदैन : केपी ओली

असन्तुष्ट जनता जस्तो खतरनाक कोही हुँदैन : केपी ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले थाहा पाउने गरी लोकतन्त्रलाई अघि बढाउन नसके लोकतन्त्र नै खतरामा पर्ने बताएका छन् ।

आज मंगलबार काठमाण्डुमा ‘संसद्मा केपी शर्मा ओली’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै ओलीले जनतामा असन्तुष्टि पैदा भयो भने कुनै पनि व्यवस्था नटिक्ने बताए ।

‘असन्तुष्टि बढ्दै गएर आक्रोश बन्छ, असन्तुष्ट जनता जस्तो खतरनाक कोही हुँदैन,’ उनले भने ।

अध्यक्ष ओलीले देश भावनाले चल्ने विषय नभएको प्रष्ट पारे । ‘देश भावनामा बग्न थाल्यो भने अनर्थ बाहेक केही हुँदैन, देश भावनाले चल्दैन, सही नीति र व्यवहारले मात्र देश चल्छ,’ उनले भने ।

माओवादीले जनताको असन्तुष्टिमा टेकेर हतियार उठाई अनेक प्रकारका बेठीक काम गरेको उनले बताए । माओवादीले गलत गरेका कारण जनताले उसको साथ छाडेको उनले बताए ।

उनले राजनीति लोकतन्त्रका लागि चाहिने र लोकतन्त्र देश विकास, जनताको हितका लागि आवश्यक रहेको बताए । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने उनले स्पष्ट पारे ।

उनले आफू सम्पूर्ण रूपमा देश, जनता र लोकतन्त्रप्रति समर्पित भएको बताए । लोकतन्त्र स्वतन्त्रता मात्र नभएर आर्थिक, सामाजिक परिवर्तनको पक्ष पनि भएको उनले बताए ।

राजनीति आर्थिक, सामाजिक, सांस्कृतिक पक्षसँग सम्बन्धित नभई लोकतन्त्र अघि नबढ्ने ओलीले बताए ।

आफूले संसद्मा बोल्दा देश र जनताप्रतिको निष्ठाका साथ बोल्ने गरेको उनले बताए । आफूले संसद्मा केही कुरामा असावधानी भएका भए पनि ठीक विचारका साथ बोलेको उनले स्पष्ट पारे ।

देश बनाउन सकिँदैन भन्ने कुरा गलत भएको उनले बताए । नेपालभन्दा साना र ठूला सबै देशले प्रगति गरेको उनले सुनाए । नेपाल उर्बरभूमि भएकाले जसरी पनि बन्न सक्ने उनले बताए । त्यसका लागि राष्ट्रिय विश्वासको खाँचो भएको उनले औंल्याए । उनले भने, ‘हामीलाई राष्ट्रिय आत्मविश्वासको मात्र आवश्यकता छ ।’

बाहिर गएर देश बनाउने नेपालीले आफ्नो देश बनाउन नसक्ने कुरै नआउने उनले बताए । युवा जनशक्ति अधिक भएको बेलामा देश बनाउनुपर्नेमा उनले जोड दिए ।

केही वर्ष ढिलो गरियो भने नेपाल ज्येष्ठ नागरिकको देश बन्ने भएकाले त्यस्तो अवस्थामा देश नै असफल हुनसक्नेतर्फ उनले सचेत गराए । भ्रष्टाचार न्यूनता, दृढ संकल्प, राष्ट्रिय दृढता र आत्मविश्वास साथ लाग्दा देश बन्न समय नलाग्ने उनले बताए ।