देशमा गठबन्धन नामको ग्रहण लागेको छ : अध्यक्ष ओली

देशमा गठबन्धन नामको ग्रहण लागेको छ : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको अवस्था निकै कमजोर बनेको बताएका छन् ।

आज बुधबार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले देशको अवस्थाको चर्चा गर्नु भनेको समय बर्बाद गर्नु मात्रै भएको बताए ।

गठबन्धनका कारण देश बर्बादीतर्फ उन्मुख भएको ओलीले बताए । ‘देश ओरालो लागेको छ,’ उनले भने ।

विदेश गएका युवाले पठाएको रेमिट्यान्सले अहिले देश चलिरहेको उनले बताए । यदि त्यो बन्द हुने हो भने देश बर्बाद हुने उनले प्रष्ट पारे । यस विषयमा गठबन्धनलाई बारम्बार सम्झाएको भए पनि सरकार त्यसमा जिम्मेवार नभएको ओलीको भनाइ छ ।

गठबन्धन सरकार देश बनाउन नभई विकासको गति रोक्न बनेको ओलीले बताए । ‘अहिले जुन गठबन्धन सरकार छ, त्यो गठबन्धन देश बनाउन र विकास गर्नका लागि बनेकै होइन, त्यो एमालेले देश बनाउँछ भनेर भत्काउन बनेको हो,’ उनले भने ।

एमालेले विकासको काम गरिरहेका बेला त्यसलाई रोक्न गठबन्धन बनेको उनले बताए । एमालेले पुल, राजमार्ग, अस्पताल, विद्यालय लगायत अनेक पूर्वाधार निर्माणको काम गरिरहेको बेला त्यसलाई रोक्न गठबन्धन सरकार बनेको ओलीले बताए ।

गठबन्धन सरकार बन्ने बित्तिकै विकासका सबै योजना काटिएका भन्दै ओलीले आलोचना गरे ।

सूर्यमा समेत कहिलेकाहीँ ग्रहण लाग्ने बताउँदै ओलीले अहिले नेपालमाथि गठबन्धन नामको ग्रहण लागेको बताए । देश बनाउने एउटा एमालेलाई छेक्न अहिले ८/१० वटा गठबन्धन मिलेर ग्रहणको काम गरिरहेका उनले बताए ।

ग्रहण धेरै समय लाग्न नसक्ने बताउँदै उनले एमाले त्यो ग्रहणबाट बाहिर निस्कने र देश विकासको काममा लाग्ने बताए । ‘नेकपा एमाले छ यस देशमा, त्यसकारण देश दुर्घटनामा जान पाउँदैन, यहाँ एमाले छ, नेपाली जनतालाई सचेत पार्ने पार्टी छ,’ उनले भने । विश्व उपनिवेशसँग लडेका देशभक्त नागरिक रहेको नेपालको भविष्य तल–माथि हुन नसक्ने उनले बताए ।

नेपाली जनताको भावना सम्बोधन गर्ने देशभक्त पार्टी नेकपा एमाले जनताको साथमा रहेको उनले प्रष्ट पारेका छन् ।

अध्यक्ष ओलीले विकासको काममा राजनीतिक आग्रह–पूर्वाग्रह नराख्न आग्रह गरे । योग्य मान्छेलाई सामाजिक क्षेत्रका जिम्मेवारी दिन उनले सुझाव दिए । अहिले गठबन्धनले क्षमता हेरेर होइन, गठबन्धने हो कि होइन भनेर जिम्मेवारी दिने गरेका कारण देश उधोगतिमा गएको उनले बताए ।