अध्यक्ष ओलीको प्रश्न : संसदीय व्यवस्थाबाटै सत्तामा पुग्न १७ हजार मानिस किन मारिए ?

अध्यक्ष ओलीको प्रश्न : संसदीय व्यवस्थाबाटै सत्तामा पुग्न १७ हजार मानिस किन मारिए ?


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायको काम पीडितको इच्छा विपरीत गएर नटुंगिने बताएका छन् ।

संक्रमणकालीन न्यायलाई पीडित मैत्री बनाएर टुंग्याउनुपर्छ भन्ने कुरामा एमाले स्पष्ट रहेको अध्यक्ष ओलीले बताए ।

मानवअधिकार एलाइन्सले आज मंगलबार आयोजना गरेको मानव अधिकार रक्षकहरूको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पीडितमाथि मेरो सहमति छ भनेर जबरजस्ती हस्ताक्षर गराउन नमिल्ने बताए । उनले माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा संक्रमणकालीन न्यायलाई टुंग्याउने पक्षमा नै नरहेको बताए । त्यसकै परिणाम १८ वर्षसम्म त्यसलाई नटुंग्याएर पीडितमाथि अन्याय गरिएको उनको भनाइ छ ।

हिंसा मच्चाउनेहरू १८ वर्षअघि नै सत्तामा पुग्दा पनि पीडितले न्याय नपाएको भन्दै उनले आपत्ति जनाए । ‘टाउकोमा बम हान्ने र टाउकोको मूल्य तोक्ने दुवै सरकारमा छन्, संक्रमणकालीन न्यायको काम किन नटुंग्याएको ?’ ओलीले प्रश्न गरे ।

आफू सरकारमा रहँदा संक्रमणकालीन न्याय टुंग्याऊँ, पीडितलाई न्याय दिऊँ भनेर लागेको भए पनि उनीहरूले बेवास्ता गरेको ओलीले बताए । ‘उहाँहरूलाई नचाहिँदासम्म वास्ता गर्नुहुन्न, चाहिएपछि भोलि नै टुंग्याउनुपर्‍यो, पर्सि नै टुंग्याउनुपर्‍यो भन्नुहुन्छ,’ उनले भने ।

अहिले पनि संक्रमणकालीन न्यायलाई पीडितमैत्री बनाएर टुंग्याउनुपर्छ भनेर एमालेले भनिरहेको उनले बताए । तर पीडितलाई अन्याय हुने गरी टुंग्याउन नसकिने उनले प्रष्ट पारे । उनले पहिला सत्य निरूपण गरेर त्यसपछि मात्र त्यसको निरूपण गर्नुपर्नेमा जोड दिए ।

मारिएको व्यक्ति फिर्ता नआउने भए पनि सबैभन्दा पहिला पीडितलाई चित्त बुझ्ने गरी अन्तरराष्ट्रिय मान्यताअनुसार संक्रमणकालीन न्याय टुंग्याउनुपर्ने उनको धारणा छ ।

नेपालले हिंसाको अति जटिल अवस्था पार गरेर आएको उनले बताए । ‘हिंसा किन भयो, कसका लागि भयो ? कसैले पुष्टि गर्न सकेको छैन,’ उनले भने ।

शान्तिपूर्ण ढंगले सरकारमा पुगेर देश र जनताको पक्षमा काम गर्न सकिने अवस्था हुँदाहुँदै माओवादीले हिंसात्मक आन्दोलन सुरु गरेको ओलीको आरोप छ । ‘हिंसा बिसाएर फेरि आउनुपर्‍यो, हिंसा बिसाएर त्यही प्रणालीमा आउँदा केमा फरक परेको थियो,’ उनले भने ।

माओवादीले २०५२ सालबाट सुरु गरेको हिंसा २०६३ सालमा छाडेर आउँदा चुनाव नलडी भाग लिएर माओवादी संसद् र सरकारमा पुगेको उनले बताए । त्यही व्यवस्थामा सत्तामा पुग्न १७ हजार मानिस किन मारिए भन्ने कुराको जवाफ माओवादीले दिन नसकेको ओलीले टिप्पणी गरेका छन् ।

माओवादीको हिंसाकै कारण विदेश जाने लहर सुरु भएको उनले बताए । द्वन्द्वको बेला हिंसात्मक पक्ष र राज्य पक्ष दुवैले मानिसको क्रूर किसिमले हत्या गरेको उनको भनाइ छ । जम्मा सत्ता, सरकार र सांसद लिनका लागि माओवादीले देश ध्वस्त बनाएको उनले टिप्पणी गरे ।

मानव अधिकार उल्लंघनकर्ताले आफ्ना कमजोरी लुकाउन अनेक कुरा गर्ने उनले बताए । त्यसविरुद्ध निर्भिकताका साथ लड्ने साहस चाहिने उनले बताए । नेपालका मानव अधिकारकर्मी त्यो आँटका साथ अघि बढेका भन्दै ओलीले प्रशंसा गरे ।

नेकपा एमालेको नीति राजनीतिक हितका लागि अरू कुनै पनि मानवीय, संवैधानिक, कानूनी अधिकार उल्लंघन गर्ने नरहेको उनले प्रष्ट पारे । ‘नेकपा एमालेले मानव अधिकार उल्लंघन गर्दैन, मानव अधिकार उल्लंघनको पक्षमा उभिँदैन, मानव अधिकारको उल्लंघनकर्तालाई संरक्षण गर्दैन,’ उनले भने ।

एमालेको मानव अधिकार संरक्षणको पक्षमा ऐक्यबद्धता रहेको ओलीले प्रष्ट पारे । ‘हामी सधैंभरि तपाईंहरूको साथमा छौं,’ उनले भने ।

नेपाली जनताको शान्तिको चाहनाले हिंसा र मानव अधिकार उल्लंघनको कहालीलाग्दो अवस्थालाई अन्त्य गरेको उनले बताए ।