देश विकासको लागि एमालेलाई सबल र निर्णायक शक्ति बनाउनुपर्छ : अध्यक्ष ओली

देश विकासको लागि एमालेलाई सबल र निर्णायक शक्ति बनाउनुपर्छ : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणको लागि सबल र निर्णायक राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन् ।

अनेरास्ववियु केन्द्रीय कमिटीको पूर्ण बैठकलाई बुधरबार सम्बोधन गर्दै ओलीले नेकपा एमाले सबल राष्ट्रिय शक्ति भए पनि निर्णायक राष्ट्रिय शक्ति नबनेको बताए ।

२०८४ सालको निर्वाचनमा नेकपा एमालेलाई सबल राष्ट्रिय शक्तिबाट निर्णायक सुदृढ राष्ट्रिय शक्ति बनाउनु पर्ने उनले बताए । ‘अरू राष्ट्रिय शक्ति बन्न सक्दैनन्, एमाले राष्ट्रिय शक्ति बन्नुपर्छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै ओलीले सुखी नेपाल समृद्ध नेपालको लागि नेकपा एमाले नै सत्तामा पुग्नुपर्ने बताए । त्यसको लागि पार्टी एक भएर अघि बढ्नुपर्नेमा ओलीले जोड दिए ।

उनले सबैभन्दा महत्त्वपूर्ण कुरा एकता नै भएको बताउँदै संगठन र पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने बताए । त्यसको लागि विचार प्रमुख विषय भएको उनले प्रष्ट पारे । लक्ष्य नतोकी हिँडियो भने गन्तव्य निश्चित नहुने उनले बताए ।

‘सँगै हिँड्दा बल हुन्छ, उछिनपाछिन गर्दा बल हुँदैन, अनेकता हुँदा बल हुँदैन, एकता हुँदा बल हुन्छ,’ उनले भने ।

चुनावदेखि चुनावसम्म, पददेखि पदसम्मको राजनीति देश र जनताको लागि हितकर नहुने ओलीले बताए । अहिलेको अवस्थाबाट उन्नत र समृद्ध समाज निर्माण गर्ने कुरा राजनीतिक लक्ष्य हुनुपर्नेमा उनले जोड दिए ।

अहिले नयाँ–नयाँ भन्ने दल र नेता निस्किएका बताउँदै उनले गत साल नै पार्टी खोलेकाहरू पनि अब पुराना हुँदै गएको बताए । सडकमा जम्मा भएका मानिसलाई हात उठाउन लगाएर सांसदको उम्मेदवार बनाएकाहरूले गठबन्धनको वितृष्णबाट दिक्क भएका जनताको मत लिन सफल भएका ओलीको टिप्पणी छ ।