मिसन ८४ सफल पार्ने नेतृत्व छान्नुहोस् : अध्यक्ष ओली

मिसन ८४ सफल पार्ने नेतृत्व छान्नुहोस् : अध्यक्ष ओली


धनगढी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ सफल पार्ने नेतृत्व चयन गर्न निर्देशन दिएका छन् ।

घोडाघोडी नगरपालिका–१ सुखडमा आयोजित कैलालीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले गुटबन्दी, अराजकता र अनुशासनहिनताले पार्टी नचल्ने बताए ।

‘पार्टीमा राम्रो आचरण भएको, सक्रिय र स्पष्ट विचार भएको व्यक्ति नेतृत्वमा आउनुपर्छ,’ उनले भने ।

आफूले भनेको भएन भने अराजक कार्य गर्ने, विधि, विधान, तरिका मिचेर पार्टी संगठन बलियो नहुने बताउँदै उनले नीति र विधि पालना गर्न निर्देशन दिए ।

उनले सक्षम र योग्य व्यक्तिले नेतृत्व गर्नुपर्ने बताए । उनले सर्वसम्मतबाट नेतृत्व चयन नभए लोकतान्त्रिक विधि अपनाउन सुझाव दिए । उनले भने, ‘सहमति हुन नसके चुनावमा जाने साथीहरूले हार र जीतलाई सहर्ष स्वीकारेर जानुपर्छ, स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ, हार्नभन्दा छोड्न राम्रो हो ।’

उनले आफ्नो कार्यकालमा गरेका कामलाई अहिलेको सरकारले निरन्तरता नदिएको टिप्पणी गरे । उनले भने, ‘म प्रधानमन्त्री भएका बेला अर्थतन्त्र सुधारिएको थियो, उत्पादन वृद्धि भएको थियो । पूर्वाधारको विकास भएको थियो । एकैदिनमा २१० वटा पालिका सदरमुकाम जोड्ने सडक, ३९६ वटा पालिकास्तरमा अस्पताल निर्माण शिलान्यास भएको थियो । ती योजना अलपत्र छन् ।’

उनले भने, ‘चुनावदेखि चुनाव होइन, देशमा समृद्ध र विश्वले हेर्नलायक देश बनाउन नेकपा एमाले लागिपरेको छ । हामीलाई यो देशमा सुशासन ल्याउनुछ, रोजगारीको अवसर सिर्जना गर्नुछ, जनताको जीवनमा परिवर्तन ल्याउनुछ ।’