पार्टी फोडेकोमा गल्ती महसूस नगर्नेलाई एमालेमा प्रवेश छैन : केपी ओली

पार्टी फोडेकोमा गल्ती महसूस नगर्नेलाई एमालेमा प्रवेश छैन : केपी ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएकोमा गल्ती महसूस नगर्नेलाई एमालेमा ठाउँ नभएको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आम जनता पार्टीका नेतालाई एमालेमा प्रवेश गराउँदै उनले त्यस्ता तत्वलाई एमालेमा प्रवेश नदिइने बताए ।

‘कुनै हिसाबले कुनै समयमा गल्ती भयो भने त्यसमा पश्चाताप गरेर अगाडि बढ्ने हो, कतिपय तत्वहरूसँग हाम्रो एकता हुँदैन र उनीहरूले प्रवेश पाउँदैनन्,’ उनले भने ।

कम्युनिष्ट पार्टी फोडेर दक्षिणपन्थीको हातमा सत्ता सुम्पिनेलाई एमालेमा प्रवेश निषेध गरिएको उनले प्रष्ट पारे । ‘उनीहरूलाई दुईतिहाइको पार्टी फोडेकोमा, पार्टी कमजोर बनाएकोमा, आफ्नो दुईतिहाइको सरकार ढालेकोमा, दक्षिणपन्थी सरकार बनाएकोमा अलिकति पनि पश्चाताप छैन, गल्ती भयो भन्नेसम्म पनि छैन, त्यस्ता खालका मानिसलाई पार्टीमा प्रवेश हुँदैन,’ उनले भने ।

गल्ती महसूस गर्नेलाई पार्टीमा सम्मानका साथ भित्र्याउने उनले बताए । एमाले प्रवेशको लहर निरन्तर बढिरहेको उनले बताए ।

कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य एवं आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाह, केन्द्रीय सदस्य अरविन्दकुमार यादव, सञ्जयकुमार साह, सरफलाल महतो, दीपककुमार दुवे र सुरेन्द्रप्रसाद चौधरी एमालेमा प्रवेश गरेका थिए । अध्यक्ष ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।