विकासका काम गर्दा कतिपय मानिसलाई टाउको दुख्ने गर्छ : अध्यक्ष ओली

विकासका काम गर्दा कतिपय मानिसलाई टाउको दुख्ने गर्छ : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वाधारको विकास विना विकास सम्भव नभएको बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालले पूर्वाधार निर्माणका लागि निकै काम गरेको बताए । नेपालले सडकको पूर्वाधार पूर्वदेखि पश्चिमसम्म तयार गरेको बताए ।

पूर्वपश्चिम राजमार्ग, हुलाकी मार्ग लगायतका काम भएका र मध्य पहाडी लगायत अन्य मार्गहरू निर्माणको क्रममा रहेका उनले बताए । ‘पूर्वाधारको विकासमा हामीले धेरै ठूला–ठूला सफलता प्राप्त गरेको छौं, अझै धेरै काम गर्नुपर्नेछ,’ उनले भने ।

विकासका काम गर्दा कतिपय मानिसलाई यसमा के प्रतिफल छ र भन्ने लाग्न सक्ने उनले बताए । विकासका काम गर्दा कतिपय मानिसलाई टाउको दुख्ने गरेको उनले सुनाए । ‘धेरै मान्छेहरूलाई टाउको दुख्छ, यस्तो कुराहरू हुने गर्दछ,’ उनले भने ।

नेपाल जस्तो देशले देशमा सडक, रेल, विमानस्थल, स्वास्थ्य, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रमा धेरै काम गरेको उनले बताए । एमालेले हरेक पालिकाका केन्द्रलाई कालोपत्रे सडकले जोड्ने अभियान चलाएको उनले स्मरण गराए ।

गाउँगाउँमा अस्पताल निर्माणको अवधारणा ल्याएको पनि ओलीले स्मरण गराए । ‘अहिले हुम्लाको सिमिकोटमा अलिकति पक्की बाटो जोडिएको छैन, नत्र अरू सबै जिल्लामा सदरमुकामसम्म पक्की बाटोमा जोडिएका छन्,’ ओलीले भने ।

ओलीले राजनीतिक अस्थिरताका कारण एमाले सरकार ढालिएपछि ती धेरै विकासका काम रोकिएका बताए । ‘अस्थिर राजनीतिक स्थिति र अन्य कारणहरूले गर्दा ती कामहरू सहज रूपमा अघि बढ्न सक्दैनन्, सकेका छैनन्, कतिले बुझ्दैनन्, कतिले भत्काइदिन्छन्, कतिले रोकिदिन्छन्, यस्ता खालका कुराले व्यवधान आएको छ,’ उनले भने ।