बजेट कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्छ : अध्यक्ष ओली

बजेट कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्छ : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको दोस्रो जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले बजेटको प्रभावकारी कार्यान्वयनका लागि नमिलेका र सच्याउने कतिपय विषयमा सरकारसँग छलफल भइरहेको बताए ।

उनले भने, ‘मुलुकमा उद्यमशीलतालाई प्रोत्साहन गर्न कच्चा पदार्थको आयात सहज हुनुपर्ने र करका दर कम हुनुपर्नेमा ध्यान जान सकेन, यस विषयमा सरकारको ध्यानाकर्षण गराइसकेको छु । बजेटलाई प्रभावकारी कार्यान्वयनका लागि अरु के–के विषय सच्याउनुपर्दछ भन्ने सन्दर्भमा पनि कुरा भइरहेको छ ।’

उनले अब हामी आफैंले पुँजी र प्रविधि विकासका गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘हाम्रो पुँजी र प्रविधिले पुगेन भने बाहिरबाट ल्याउनुपर्दछ तर मुख्यतः हामी आफैंले उत्पादन तथा पुँजीको सिर्जना र विकासमा ध्यान दिन आवश्यक छ ।’

उनले मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याए पनि फाइदा लिन नसकिएको भन्दै अब रोजगारीका अवसर सिर्जना हुने गरी लगानीको उपयोग हुन जरुरी रहेको धारणा राखे । देशलाई औद्योगिकीकरण र रोजगारीको अवसर सिर्जना गर्ने खालका लगानी भित्र्याउनुपर्नेमा उनको जोड थियो ।

अध्यक्ष ओलीले उद्योगमा प्रविधिको प्रयोगले औद्योगिकीकरणको भविष्य निर्धारण गर्ने भन्दै कृषिको आधुनिकीकरण र औद्योगिकीकरण गर्न नसके देशको अवस्था नबदलिने बताए ।

पार्टीका पोलिटब्यूरो सदस्य सुजिता शाक्यले मुलुकमा उद्योग स्थापना गरेर रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइन् ।