गिरीबन्धु टी–स्टेटमा कांग्रेसले ५१ र १९ बिगाहा बेचेर खायो : अध्यक्ष ओली

गिरीबन्धु टी–स्टेटमा कांग्रेसले ५१ र १९ बिगाहा बेचेर खायो : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र फाटो, विभाजन र गुटबन्दी गर्नेलाई ठाउँ नदिइने बताएका छन् ।

बिहीबार एमाले भक्तपुरको नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई पार्टीभित्र ठाउँ छैन । आन्तरिक संघर्षका लागि ठाउँ छैन, छलफल र विचार विमर्श गर्नलाई ठाउँ छ ।’

अध्यक्ष ओलीले मिसन ८४ यतिकै नभनेको भन्दै देशको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउन खोजेको पनि बताए । उनले पार्टीभित्र एकताबद्धता पहिलो रोजाइ हुनुपर्ने कार्यकर्तालाई सुझाव दिए ।

‘हाम्रो एकताकै कारण पार्टी सिध्याउँछु भन्नेहरू असफल भएका हुन् । हाम्रो सुझबुझ र सचेत एकताले नै उनीहरू असफल भएका हुन्,’ उनले भने । पार्टीलाई एकताबद्ध ढंगले अघि बढाए मात्रै विपक्षीहरूसँग प्रतिस्पर्धा गर्न सकिने भन्दै ओलीले एमालेलाई निर्णायक शक्ति बन्न नदिन एकपछि अर्को मिथ्या आरोप लाग्ने गरेको बताए ।

‘एउटा करायो केपी ओलीले १०८ केजी सुन चढाएँ भनेर पित्तल चढायो, छानबिन गरिपाऊँ भन्यो, पशुपतिमा चढाएको जलहरी भत्काएर, तौलिएर, घोटेर । कहाँ गयो त्यो कराउने ?’ उनको प्रश्न छ ।

गिरीबन्धु टी–स्टेटमा ५१ र १९ बिगाहा कांग्रेसले बेचेर खाएको भन्दै उनले आफूले कानून बनाएपछि खान नपाउँदा स्याल हुइयाँ मच्चाएको आरोप लगाएका छन् ।