एमाले स्वार्थका पछाडि कुद्ने पार्टी होइन : अध्यक्ष ओली

एमाले स्वार्थका पछाडि कुद्ने पार्टी होइन : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले स्वार्थका लागि कुद्ने पार्टी नभएको बताएका छन् ।

एमाले ललितपुर महानगर कमिटीको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले दैनिक रूपमा विभिन्न स्वार्थका लागि एमालेलाई जोडेर हिँड्नेको बिगबिगी रहेकाले त्यसप्रति कुनै सत्यता नभएको जिकिर गरे ।

देशलाई गरीब बनाएर आफ्नो र विदेशीको स्वार्थका लागि लाग्नेहरूको कमी नभएकाले देश गरीबीतर्फ उन्मुख भएको उनले बताए । देशलाई गरीब बनाउन प्रयास भइरहेकाले उनीहरूको आफ्नो स्वार्थ र विदेशीको स्वार्थ पूरा गर्नेहरूबाट बच्नुपर्ने अध्यक्ष ओलीले बताए ।

देश बनाउने विचार र समृद्ध नेपाल सुखी नेपालीको विचार एमालेले ल्याएको अवस्थामा एमाले जस्तो राष्ट्रिय शक्ति सुदृढ भइसकेकाले त्यसको अभिभारा पूरा गर्न एमाले सक्षम रहेको बताए ।

उनले समृद्ध बनाउने एमालेको लक्ष्य पूरा हुन नदिन एमाले र आफ्नोविरुद्ध हरेक दिन अनेक हल्ला फिजाइरहेको दाबी गरे । कहिले ३०० करोड त कहिले ५ अर्ब, कहिले खर्बौं खाएको भनेर हल्ला फिजाउँदै हिँड्दै एमालेप्रति द्वैष फैलाउने सक्रिय भएको बताए ।

उनले भने, ‘दिनैपिच्छे हजार करोड खायो भन्दै हिँड्ने, अहिले मैले बोली सक्दा–नसक्दै अर्को हजार करोड खायो भन्ने पनि छन् । कहिले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने, कहिले स्वीस बैंकमा ६५ करोड राखेको, कहिले गिरीबन्धुमा हजारौं करोड खाएको भनेर अनावश्यक हल्ला फिजाएर हिँडिरहेका छन् । १० हजार करोड खायो भनेर अस्ति भर्खर एउटाले दिउँसै सडकमा उभिएर कराउँदै थियो । कहिलेकाहीँ त जोखना हानेर बोल्छन् कि जस्तो लाग्छ । यी सबैको जवाफ दिनुको अर्थ छैन, किनकि मैले त्यत्रो सम्पत्ति कहाँ राख्ने होला ? मलाई नै थाहा छैन । उनीहरूको एक मात्र लक्ष्य एमालेलाई कमजोर पार्नु हो । आफूले आफ्नो सम्पत्ति समाजलाई दान दिइसकेकाले स्वार्थमा लाग्नुपर्ने कुनै कारण छैन ।’

अध्यक्ष ओलीले भ्रमको तुवालो चिर्दै विकास र समृद्धिको लक्ष्यमा अडिग रहेको बताए । देश सुरुङ, रेल र पानीजहाजको युगमा प्रवेश गरे पनि विरोधीले कुनै समय उडाउने गरेको प्रसङ्ग कोट्याउँदै सपना देख्ने र सपना पूरा गर्ने कार्य एमालेले मात्र गर्न सक्ने उनले बताए ।

अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष ओलीसहित एमाले स्थायी कमिटी सदस्य तथा ललितपुर इन्चार्ज शेरबहादुर तामाङ, पोलिटब्यूरो सदस्य सुशिला नेपाल, केन्द्रीय सदस्यहरू हरिकृष्ण व्यञ्जनकार र बाबुराम थापा, बागमती प्रदेश कमिटी सचिव नवराज सिलवाल, एमाले ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्य, ललितपुर महानगरभित्रका विभिन्न पार्टीका प्रमुखहरूले सम्बोधन गरेका थिए ।

समारोहमा ललितपुरका पुराना कम्युनिष्ट नेता सिद्धिलाल सिंह लगायतलाई सम्मान गरिएको थियो । समारोहमा महानगरले प्रकाशित गरेको पुस्तक संकल्पको विमोचन गरिएको थियो । अध्यक्ष ओलीले विभिन्न पार्टीमा सक्रिय ५ जनालाई टीका लगाएर एमाले प्रवेश समेत गराएका थिए ।

महानगरको दोस्रो अधिवेशनमा सहभागी करीब २५० प्रतिनिधिले नयाँ कमिटी चयन गर्ने कार्यक्रम छ ।