योगलाई सबै मानवसम्म फैलाउनुपर्छ : अध्यक्ष ओली

योगलाई सबै मानवसम्म फैलाउनुपर्छ : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्न नहुने बताएका छन् ।

शुक्रबार १०औं विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग नेपाल भूमिबाट सुरु भएको र योग कुनै धर्म, जाति, भूगोल र राजनीतिक विचार धारामा सीमित नहुने बताए । योगलाई मानव जातिको कल्याणका रूपमा विकास गर्नुपर्ने उनले बताए । उनले योग मानव समाजव्यापी हुन जरुरी रहेको बताए ।

‘योग कुनै धर्म विशेषसँग, कुनै जाति वा भूगोल विशेषसँग, कुनै राजनीतिक विचार धारासँग सीमित छैन । यो सम्पूर्ण मानव जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको छ । कुनै धर्म विशेषसँग सीमित गरेर समग्र मानव जातिको कल्याणका निम्ति मानवव्यापी यसको दायरालाई सीमित गर्नु हुँदैन । यस धर्मसँग सम्बन्धित छ भनेर अरु धर्मलाई अलग गर्नु हुँदैन । मानव जातिको शरीर स्वस्थ रहोस्, मस्तिष्क स्वस्थ रहोस् भन्ने कुरासँग सम्बन्धित छ,’ उनले भने ।

अध्यक्ष ओलीले चित्त निरोधक नै योग रहेको बताए । योग भनेको अनुशासित र पवित्र जीवन रहेको उनले बताए । उनले योगको बाटोमा लाग्न र फैलाउन सबैलाई आग्रह गरेका छन् ।