काठमाडौं – प्रधानमन्त्री केपी ओलीले चीनबाट फर्काइने नेपालीलाई राख्ने स्थानको व्यवस्था गर्न निर्देशन दिएका छन् । उनीहरूलाई कहाँ राख्ने, कसरी सम्बोधन गर्ने भन्ने विषयमा बढी केन्द्रित हुन र चीनमा रहेका नेपालीबारे पनि नियमित जानकारी लिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
यसबारे उनले स्वास्थ्य, परराष्ट्र, गृह, रक्षा, पर्यटनलगायत सरोकारवाला मन्त्रालयका मन्त्री एवं सचिवहरूलाई एकै स्थानमा राखेर छलफल गरेका थिए । उनले चीनमा कोरोना भाइरसको महामारी र त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएका थिए ।
नेपालीलाई फर्काउन प्रक्रिया सुरु भएपछि प्रधानमन्त्रीले क्वारेन्टाइन चेक, अस्पितालमा राख्न पर्दाको अवस्था तथा उच्च सतर्कताको तयारीलगायत विषयमा चासो देखाएका हुन् । विमानस्थलमा तयारीलगायत विषयमा पनि उनले जानकारी लिँदै सुधार र उच्च सतर्कताका लागि निर्देशन दिएको बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
‘हाम्रो सुरक्षा तयारी र त्यहाँ (चीनमा) रहेका नेपाली नागरिकको अवस्थाबारे प्रधानमन्त्रीले बुझ्नुभयो’,मन्त्री बाँस्कोटाले भने, ‘त्यसपछि गर्नुपर्ने तयारीबारे सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।’
प्रतिक्रिया