काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले महान् उद्देश्य र महान् गन्तव्य बोकेर अगाडि बढेको पार्टी भएको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सबै नेपाली जनता सुखी हुनुपर्छ भन्ने सोचका साथ नेकपा एमाले अघि बढेको दाबी गरे ।
सुखी हुनका लागि गरीबी र अभाव हुन नहुने बताउँदै उनले त्यसका लागि अनुकूल वातावरण बनाउने उद्देश्य बोकेर नेकपा एमाले अगाडि बढेको प्रष्ट पारे ।
हरेक नागरिकले सुरक्षित, निर्भय र सम्मानपूर्ण रूपले बाँच्न पाउनुपर्नेमा उनले जोड दिए । समृद्ध नेपाल र सुखी नेपाली एमालेको अन्तिम लक्ष्य भएको उनले बताए । ‘हाम्रो अन्तिम गन्तव्य सुखी नेपाली हो, विना समृद्धि सुख प्राप्त हुँदैन, सुखको लागि समृद्धि आवश्यक छ,’ उनले भने ।
उनले आज पनि एमालेका ५ लाख सदस्यहरू समृद्धिको अभियानमा देशभरि खटिरहेका बताए । कम्तीमा ५ लाख कार्यकर्ता आज पनि देशभर क्रियाशील रहेका उनले बताए । एमालेका जति क्रियाशील पार्टी सदस्य नेपालका अन्य कुनै राजनीतिक दलमा नभएको उनले दाबी गरेका छन् ।
प्रतिक्रिया