प्रधानमन्त्रीमा ओलीको नियुक्ति भोलि, शपथ पर्सि

प्रधानमन्त्रीमा ओलीको नियुक्ति भोलि, शपथ पर्सि


काठमाण्डु – प्रतिनिधि सभाका २ ठूला राजनीतिक दलको सहकार्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि आईतबार नयाँ प्रधानमन्त्री नियुक्त हुने भएका छन् ।

भोलि आईतबार साँझ ५ बजे प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई नियुक्त गर्नेछन् ।

राष्ट्रपति कार्यालय शितलनिवास स्रोतका अनुसार ओलीको नियुक्ति भोलि भए पनि शपथ र पदभार ग्रहण कार्यक्रम पर्सि सोमबार हुने भएको छ ।

आईतबार साँझ ५ः१५ बजे ओली प्रधानमन्त्री नियुक्त हुने र सोमबार बिहान ११ बजे शपथ कार्यक्रम हुने जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव अस्वीकृत भएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।

नेपाली कांग्रेस र एमालेबीच असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रतिनिधि सभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेश गर्न आईतबार अपराह्न ५ बजेसम्मको समय दिएका छन् । राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्री नियुक्तिका निम्ति सूचना जारी भएलगत्तै २ दलले ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्न दाबी पेश गरिसकेका छन् ।

यसअघि अध्यक्ष ओली २०७२, २०७४ र २०७८ सालमा गरी ३ पटक प्रधानमन्त्री भइसकेका छन् ।