विज्ञान प्रविधिको विकासले मानिसलाई लामो समयसम्म बाँच्ने बनायो : प्रधानमन्त्री ओली

विज्ञान प्रविधिको विकासले मानिसलाई लामो समयसम्म बाँच्ने बनायो : प्रधानमन्त्री ओली


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको विकासले मानिसले अकालमा मर्नु नपर्ने बताएका छन् ।

शनिबार नेकपा एमाले केन्द्रीय कार्यालयमा नेत्रप्रसाद गौतमद्वारा लिखित नेत्रका तीन खण्डकाव्य र भूत पिसाचका कथा संग्रह लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विज्ञान प्रविधिको विकासले मानिसलाई लामो समयसम्म बाँच्ने बनाएको बताए ।

‘अबको समय भनेको दीर्घ जीवनको समय हो, स्वास्थ्यका लागि थुप्रै उपचारका कुराहरू हुन्छन्,’ उनले भने ।

अहिलेको युग उहिलेको जस्तो नभएको ओलीले बताए । ‘उहिलेको जस्तो होइन, यहाँ यत्रो विघ्न डाक्टर पढाइएको छ, यत्रो विघ्न अस्पताल खोलिएको छ, यत्रो विघ्न मेसिन–सेसिन किनेर ल्याइएको छ, यत्रो विघ्न औषधि छन्,’ उनले भने ।

आफूले इञ्जिनको पार्टपुर्जा फेरे जस्तै २ पटक मिर्गौला फेर्दा पनि हट्टाकट्टा नै भएको ओलीले सुनाए । यो सबै विज्ञान प्रविधिको विकासका कारण भएको उनले बताए ।

उनले साहित्यकार नेत्रप्रसाद गौतम ८० वर्ष पूरा भए पनि अझै धेरै कृति लेख्ने विश्वास व्यक्त गरे । ‘भर्खर ८० वर्ष हुनुभयो, थुप्रै काम गर्न बाँकी छ, थुप्रै कुरा गर्न बाँकी छ,’ उनले भने ।

नेपाली भूमि साहित्य, कला र संस्कृतिको उर्वर भूमि भएको उनले बताए । उनले नेपाल ज्ञानको उत्पत्ति र विस्तार भएको ठाउँ भएको ओलीले दाबी गरे । अनुभवहरू परिष्कृत भएपछि ज्ञान बन्ने उनको भनाइ छ ।

‘ज्ञान विकास गर्ने, सञ्चित गर्ने र विस्तार गर्ने कार्य धर्तीको यही भूभागमा भएको थियो,’ उनले भने ।

ओलीले नेपाल साहित्यकारहरूको पनि उर्वर भूमि भएको बताए । भानुभक्त, मोतीराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्ता महान् साहित्यकारहरू नेपालमा जन्मिएका उनले बताए ।