काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरूबीच आपसी समन्वय बढाई परिणाम आउने गरी काम गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार नवनियुक्त ३ राज्यमन्त्रीको शपथ ग्रहणपछि बधाई तथा शुभकामना दिँदै उनले राज्यमन्त्रीको मुख्य काम सम्बन्धित मन्त्रीहरूलाई सहयोग गर्ने भएकाले रचनात्मक भई आफ्नो कार्यक्षेत्रको सदुपयोग गर्न सुझाव दिए ।
प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीहरूले पनि राज्यमन्त्रीलाई आवश्यक जिम्मेवारी दिने र परिणाम निकाल्ने विषयमा ध्यान दिन आग्रह गरे । अहिलेको विषम परिस्थितिलाई अनुकूलस्थितितर्फ लैजानका लागि आफूहरू प्रयत्नरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नवनियुक्त राज्यमन्त्रीलाई गलत मान्छेहरूको संगत र उनीहरूको प्रलोभनमा नपर्न पनि सचेत गराए ।
उनले राज्यमन्त्रीहरूले मन्त्रालयसँग सम्बन्धित सबै विषयमा विस्तृत अध्ययन गरेर सूचनाको भण्डारको रूपमा रही बढी जानकारी लिएर मन्त्रीहरूलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको इन्धन भण्डारण खतरा रहेको भनी आइरहेको विषयप्रति चासो जनाउँदै खतरा भनिएको भण्डारणलाई अन्यत्र स्थानान्तरण गर्न पनि सम्बन्धित मन्त्री र राज्यमन्त्रीलाई ध्यान पुर्याउन निर्देशन दिए ।
प्रतिक्रिया