काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा जनसंख्या वृद्धिदर घट्नु जोखिमको संकेत भएको बताउँदै चाँडो बच्चा जन्माउन युवालाई अपिल गरेका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन २०२४ को समापन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले भने, ‘धेरै ढिलोमा पनि ५० वर्षपछि ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढ्दै छ ।’
उमेर भएका युवायुवती विदेश बस्नाले पनि जनसंख्या घट्दै गएको ओलीले बताए । उनले २०–३० वर्ष बीचको उमेरमा नै विवाह गर्न र चाँडो बच्चा जन्माउन युवालाई सुझाव दिए । भविष्य बनाउनका लागि बहकिएर होइन, यथार्थमा आउन ओलीले आग्रह गरे ।
दीगो विकास लक्ष्य प्राप्त गर्नका लागि निरपेक्ष गरीबीको रेखामुनि रहेका जनतालाई त्यहाँबाट मुक्त गर्नुपर्ने उनले बताए ।
निरपेक्ष गरीबीको रेखामुनिबाट जनतालाई माथि उठाउन सकिएन भने दीगो विकास लक्ष्य पूरा हुन नसक्ने उनले बताए । देशमा अहिले पनि २० प्रतिशत जनसंख्या गरीबीको रेखामुनि रहेको बताउँदै उनले उनीहरूले सामान्य सेवा नपाएका भन्दै चिन्ता व्यक्त गरे ।
वर्षको २ प्रतिशतका दरले गरीबी न्यूनीकरण गर्न सकिएन भने १० वर्षमा पनि नेपालमा गरीबी निवारण गर्न नसकिने उनले बताए । त्यसैले नेपालमा गरीबी निवारण गम्भीर प्रश्नको रूपमा रहेको उनको धारणा छ ।
भविष्यको सुरक्षाका लागि वातावरणीय सुरक्षा त्यतिकै महत्त्वपूर्ण हुने उनले बताए । पृथ्वीलाई बाँच्न सक्ने धर्तीको रूपमा निरन्तरता दिनुपर्नेमा ओलीले जोड दिए । ‘हिमालको महत्त्व वातावरणीय प्रश्नमा असाधारण छ, यो कुरा हामीले दुनियाँलाई बताउनुपर्छ कि हिमालबाट कि समुन्द्रबाट वातावरण निर्माण हुन्छ,’ ओलीले भने ।
खाद्य सुरक्षालाई धान नदिने हो भने गम्भीर अवस्था सिर्जना हुने उनले बताए । नेपाल जस्तो उर्बर देश बाँझो बन्नु निकै जोखिमपूर्ण रहेको बताउँदै उनले यस्ता कुरामा ध्यान दिनुपर्नेमा स्पष्ट पारे ।
नेपालका कुनै पनि बालबालिका सडकमा हुनु हुँदैन भनेर आफूले पहिला पनि घोषणा गरेको स्मरण गराउँदै ओलीले १ वर्षभित्र नेपालमा कुनै पनि बालबालिका सडकमा नहुने प्रष्ट पारे । त्यसको जिम्मा सरकारले लिने उनले बताए ।
युवालाई आयआर्जनसँग जोड्न आवश्यक रहेको उनले बताए । यसका लागि युवालाई उद्यमशीलतामा जोड्न आवश्यक रहेको उनको भनाई छ । यो कसरी गर्न सकिन्छ भन्ने विषयमा सरकारले सोचिरहेको उनले जानकारी दिए ।
साना–साना उद्योगमा युवालाई जोडेर विकासको लहर ल्याउन सकिने उनले धारणा राखे । केही युवा रहरले बाहिर गएका भए पनि धेरै युवाहरू देशमा असहज अवस्था भएकै कारण बाहिर गएका ओलीले बताए । त्यसलाई रोक्न नसक्ने हो भने देश युवाविहीन बन्ने अवस्था आउने ओलीको धारणा छ ।
प्रतिक्रिया