न्युयोर्कमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री सहभागी हुने कार्यक्रम अन्तिम सयममा स्थगित

न्युयोर्कमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री सहभागी हुने कार्यक्रम अन्तिम सयममा स्थगित


काठमाण्डु-अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको छ । नेपाली समुदायबाटै विरोधको तयारी भन्ने सूचना आएपछि प्रधानमन्त्री र परराष्ट्रमन्त्री सहभागी हुने कार्यक्रम स्थगित गरिएको हो ।

न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझावलाई ध्यानमा राखी आजका लागि तय भएको बृहत् कार्यक्रम स्थगन गरिएको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरूमा व्यस्त रहनु परेको पनि न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले जनाएको छ ।

महावाणिज्य दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूको संयुक्त राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने वृहत कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ ।’

महावाणिज्य दूतावासले यसबाट पर्न गएको असुविधाप्रति दुःख प्रकट गरेको छ ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा छन् ।