प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति पौडेलबाट टीका ग्रहण

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति पौडेलबाट टीका ग्रहण


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट टीका र जमरा ग्रहण गरेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार अपराह्न शीतलनिवास पुगेर राष्ट्रपतिबाट नवदुर्गाको प्रसादस्वरूप टीकाजमरा ग्रहण गरेका छन् ।

राष्ट्रपति पौडेलले दिउँसो ३ बजेपछि राष्ट्रपति कार्यालय शीतलनिवासमा दिउँसो ३ बजेपछि अतिविशिष्ट व्यक्तित्वलाई टीका तथा जमरा लगाएका छन् । टीका तथा जमरा ग्रहण गर्न उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङ लगायत राष्ट्रपति कार्यालय शितलनिवास पुगेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा लगायतले राष्ट्रपति पौडेलसँग टीकाजमरा ग्रहण गरेका छन् ।

राष्ट्रपति पौडेलले इच्छुक सर्वसाधारणलाई पनि टीका र जमरा लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।